बाँके ।
नेपालगन्ज कारागारका १६ जना कैदीले नवौं संविधान दिवसको अवसरमा बाँकी सजाय छुट पाएका छन् । उनीहरू बुधबार संविधान दिवसको अवसरमा रिहा भएको नेपालगन्ज कारागारका प्रमुख अर्जुनजंग शाहले जानकारी दिए ।
उनीहरूलाई कारागारका कर्मचारी, सुरक्षाकर्मी र कैदीहरूले टीका लगाइदिएर बिदाइ गरेका थिए भने आफन्तहरूले खादा र माला लगाएर स्वागत गर्दै घर लगेका थिए ।
आठौं संविधान दिवसको अवसरमा गत वर्ष नेपालगन्ज कारागारका १७ जना कैदीको बाँकी कैद मिनाहा भएको थियो । नेपालगन्ज कारागारमा पुरूष कैदी मात्र रहेकाले बाँकी कैद छुट पाउने १६ जनामा सबै पुरूषहरू रहेको कारागार प्रमुख शाहले मिसन टुडेलाई जानकारी दिए ।
‘नेपालगन्ज कारागारमा महिला कैदी हुनुहुन्न,’ उनले भने, ‘दिवसको अवसरमा बाँकी कैद छुट पाउनेमा सबै जना पुरुष कैदी हुनुहुन्छ ।’ बाँकी कैद छुट पाएर रिहा हुनेहरूमा सवारी ज्यान, चोरी र कर्तव्य ज्यान मुद्दाका कैदीहरू रहेका छन् ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।
यही व्यवस्थाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६ सय ७० जनाको कैद मिनाह गरेका हुन् । संविधान दिवसको अवसर पारेर कैद मिनाहाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्