नेपालगन्ज ।
मध्यपश्चिम स्रष्टा समाजले प्रदान गर्दै आएको ‘सनत रचना कथा सम्मान २०८१’ बाट ‘बहुरुपी’ कथासंग्रहका लेखक कथाकार श्रेयज सुवेदी सम्मानित भएका छन् । नेपालगन्जमा सोमबार आयोजित एक कार्यक्रमका बीच कथाकार सुवेदीलाई सम्मान गरिएको हो । प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कथासंग्रह र कथाकारहरूलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासंग्रहमध्ये छनौट समितिले उत्कृष्ट ठह¥याएको कथासंग्रह ‘बहुरुपी’लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिए । कार्यक्रममा सम्मानित कथासंग्रहमाथि आफ्ना पाठकीय धारणा राख्दै डम्मर बिसीले लेखको पहिलो कथासंग्रहमै प्रभावशाली भाषाशैली र विषयवस्तुको बलियो पकड रहेको भन्दै कथाकार सुवेदीमा राम्रा कथा लेख्नसक्ने क्षमता देखिएको बताए ।
साथै उनले कथाहरूमा देखिएको फिल्मी शैली र छायाँलाई कम गर्दै लैजान सुझाव पनि दिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखक सुवेदीले आफ्नो जीवनको पहिलो सम्मान र पुरस्कार प्राप्त गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सम्मानपछि थप उत्कृष्ट रचनाहरूका लागि प्रेरणा लिन लेखकलाई सुझाव दिए । स्रष्टा समाजका अध्यक्ष जैसीले आगामी दिनमा सम्मान प्रदान गर्दा थप गुणस्तरीय पुस्तक वा लेखकलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यद्वय महानन्द ढकाल र शशीराम काकी, प्रगतिशील लेखक संघका सचिव हरि तिमिल्सेना र साहित्यकार कल्पना पौडेल ‘जिज्ञाशु’ले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बहुरुपी कथासंग्रहमा सामाजिक भेदभाव, आर्थिक असमानता, सांस्कृतिक संघर्ष र मानवीय संवेदनाहरूमा आधारित १५ वटा कथाहरू रहेका छन् ।
२०८१ सालमा प्रकाशित कथा संग्रहहरूमध्ये सर्वाधिक चर्चामा रहेको उक्त कथासंग्रह मदन पुरस्कारका लागि संक्षिप्त सुचीको उत्कृष्ट ७ भित्र र पद्मश्री साहित्य पुरस्कारको छनौटका लागि उत्कृष्ट १५ वटा पुस्तकहरूको सुचीभित्र पनि अटाएको थियो ।









प्रतिक्रिया दिनुहोस्