शिवु खनाल । दाङ ।
चाडपर्वमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियापकलाप रोक्न कडा निर्देशन दिइएको छ । भारतसँग जोडिएका ३४ वटा सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले बताए ।
नेपालीको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी दाङ प्रहरी र सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्था कडाइ गरेको प्रजिअ सुबेदीले जानकारी दिए ।
‘चाडपर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ,’ उनले भने, ‘जसले सीमा सरक्षालाई थप चुस्त बनाउनेछ ।’
जिल्लाका अन्य सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै लगिएको सुबेदीले बताए । भारतसँग सीमा जोडिएका दाङका सीमावर्ती क्षेत्रबाट चाडपर्व मान्न भारतबाट फर्कने नेपाली कामदारले सीमामा बर्सेनि लुटिनुपरेको भन्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्देशन दिएको हो ।
‘सीमा क्षेत्रमा भारतबाट चाडपर्व मान्न आउने कामदार लुटिने गरेका छन्, भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले उनीहरूलाई अनावश्यक दुःख दिने गरेको सुनिन्छ,’ उनले भने, ‘यस्तो नहोस् भनेर सीमा क्षेत्रका सुरक्षा प्रमुख निर्देशन दिइएको छ ।’
यस्तै, चार्डपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी, यातायात क्षेत्रमा हुने अनियमितता तथा खाद्यान्नको कृत्रिम अभाव जस्ता अनियमितता रोक्न पनि समितिले प्रयास थालेको छ । यातायात, बजार तथा खाद्यान्नको अनुगमन गर्न उपसमिति बनाइएको छ, जसले यातायात क्षेत्रमा अनावश्यक भाडा बढाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत समस्याको अध्ययन गर्नेछ ।
प्रमुख जिल्ला अधिकारी सुबेदीका अनुसार दाङका ३४ वटै सीमा क्षेत्रमा चाडपर्वलाई मध्यनजर गर्दै अहिले सामान्य अवस्थामा भन्दा तेब्बरको संख्यामा सशस्त्र प्रहरीका जनशक्ति खटाइएको छ । अहिले हरेक चार किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको टोली खटिएको छ ।
सशस्त्र प्रहरी बल २९ नं. हेक्वाज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले सीमा क्षेत्रमा खबरी, सुकौली र भौवानाकामा फरवाड अब्जरभेसन बेस स्थापना गरिएको जानकारी दिए ।
उनका अनुसार सीमामा स्थायी ड्यूटी, सवारी, मोबाइल, पैदल र साइकल गस्तीलाई पनि बढाइएको छ ।









प्रतिक्रिया दिनुहोस्