ठूला गाई फर्म धमाधम बन्द भएका छन् जसमा लागेको लाखौं रकम डुबेको छ । गाई फर्म बन्द भएपछि व्यवसायीहरू त्यसको विकल्पमा अरूले उत्पादन गरेको दूध मात्रै बेचिरहेका छन् । बजारको मागअनुसार भैँसीको दूध धेरै बिक्री हुने भएका कारण भैँसीपालन किसानको ध्यान जाने गरेको छ ।
कमल डाँगी । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका–२३, पुरैनीमा २०७१ सालमा प्रभातसिंह ठकुरी, पशुस्वास्थ्य कार्यालयका पूर्वप्रमुख पुष्पराज श्रेष्ठसहित विभिन्न पेसामा आबद्ध व्यक्तिहरू मिलेर कामधेनु गाई फर्म सञ्चालन गरे । ७० लाख रुपैयाँ लगानीमा खुलेको गाई फर्ममा ५२ वटा गाई थिए जो बाँकेमै सबैभन्दा ठूलो गाई फर्मका रूपमा थियो ।
दैनिक एक सय पचास लिटर दूध उत्पादन गर्ने कामधेनु गाई फर्म सुरुको एक वर्ष राम्रै चल्यो । तर त्यसपछि भने अपेक्षाकृत हुन सकेन । सञ्चालनको दुई वर्षमै उक्त फर्म बन्द भयो । लगानीकर्तामध्ये एक ठकुरी भन्छन्, ‘निकै ठूलो आशा र अपेक्षासहित खुलेको गाई फर्म केही वर्षमै बन्द हुँदा दुःख लाग्यो ।’
दूधले बजार राम्रै पाए पनि फर्म सञ्चालकमा धैर्य नहुने हो भने पशुपालन गर्न मुस्किल पर्ने पाठ सिकेको बताउँदै ठकुरी भन्छन्, ‘पशुपालनमा धैर्य चाहिन्छ, त्यसको अभावमा प्रगति हुँदैन जस्तो लाग्यो ।’ सामाजिक क्षेत्रमा क्रियाशील बैजनाथ चिसापानीका पुनितबिक्रम शाहले पनि गाई फर्म सञ्चालनमा ल्याएका थिए । उनको फर्म बन्द भएको लामो समय भइसकेको छ ।
बाँके दुग्ध व्यवसायी संघका अध्यक्ष दीपक भण्डारीले २०६८ सालतिर ७० लाखकै लगानीमा बैजानाथ–६ मा ६० वटा गाई पाले । तर उनको गाई फर्म पनि लामो समय टिक्न सकेन । ‘गाईको दूधले बजार नै नपाउने अवस्था सिर्जना भयो । फेरि बाहिरबाट ल्याएको गाईलाई स्याहारसुसार गर्न पनि निकै कठिन हुने रहेछ,’ गाई फर्म सञ्चालनको अनुभव सुनाउँदै भण्डारी भन्छन्, ‘अर्कोतिर काम गर्ने जनशक्तिको पनि अभाव झेल्नुप¥यो ।’
बाँकेमा यसरी ठूला गाई फर्म धमाधम बन्द भएका छन् जसमा लागेको लाखौं रकम डुबेको छ । गाई फर्म बन्द भएपछि व्यवसायीहरू त्यसको विकल्पमा अरूले उत्पादन गरेको दूध मात्रै बेचिरहेका छन् । भण्डारी भन्छन्, ‘फर्म बन्द गरेपछि मैले दुग्ध व्यवसायमा हात हालेँ । अहिले बुझ्दा गाईको दूधले बजार नै नपाउने भन्ने छैन रै’छ ।’
तथ्यांक विभागले सार्वजनिक गरेको कृषि जनगणना–२०७८ अनुसार बाँकेमा राँगाभैँसी पाल्ने धेरै छन् भने गाईगोरु पाल्ने कम देखिएका छन् । बाँकेमा ४८ हजार ८ सय १८ पशुचौपाय पाल्ने कृषक छन् । ती कृषकले ३१ हजार ९ सय ४१ वटा गाईगोरु पालेका छन् भने अन्य कृषकहरूले ५३ हजार ६ सय ४७ राँगाभैसी पालेका छन् ।
दुग्ध कृषक संघ बाँकेका अध्यक्षसमेत रहेका भण्डारीका अनुसार व्यावसायिक दृष्टिकोण र दूध उत्पादनका कारण पनि भैँसीपालन बढेको हुन सक्छ । उनले भने, ‘मैले नै दश वर्षअघि ६० वटा गाईपालन गरेँ तर त्यसमा खासै प्रगति भएन । धेरै कृषकले दूधका लागि गाई नै पाल्न थाल्नुभएको थियो तर अहिले अवस्था त्यस्तो छैन ।’
बजारको मागअनुसार भैँसीको दूध धेरै बिक्री हुने भएका कारण भैँसीपालन बढेको पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्