![]()
बाँके ।
कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बर्दिया कारागारका ‘भाइ–नाइके’ भागेको घटनामा छानबिन समिति गठन भएको छ ।
आइतबार बिहान साढे ३ बजे बर्दिया कारागारका भाइ–नाइके ठाकुरबाबा नगरपालिका–८ का ३० वर्षीय अजित बुढा क्षेत्री पर्खालबाट हाम्फालेर भागेको घटनामा छानबिन गर्न समिति बनाइएको हो ।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।
समितिको सदस्यमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत गोपाल थापा सम्मिलित समिति गठन भएको
हो । समितिले आइतबारदेखि नै काम सुरू गरिसकेको संयोजक अर्यालले बताए ।
‘प्रतिवेदन बुझाउने समय तोकिएको छैन । चाँडो छानबिनको प्रतिवेदन तयार पारी बुझाउने भन्नेछ,’ उनले भने । कारागारबाट भागेका भाइ–नाइके क्षेत्रीलाई प्रहरीले ११ महिना अघिमात्रै पक्राउ गरेको थियो । उनले २०७१ साल चैतमा ६९ वर्षीय छिमेकी जोरासिंह थापामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
पक्राउ परी अदालतमा उपस्थित गराउँदा उनी अदालतबाटै हतकडीसहित फरार भएका थिए । त्यस कसुरमा उनलाई ३० वर्ष जेल सजाय सुनाइएको थियो । तर आठ वर्षसम्म उनी भारतमा लुकेर बसेका थिए । करिब ११ महिना पहिले मात्रै गाउँमा घर आएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए ।
‘घटनाक्रम सरसर्ती नियाल्दा यतिखेर जेल प्रशासनको कमीकमजोरी ग¥यो कि भन्ने जस्तो देखिएको छ,’ उनले भने, ‘यो घटनामा कसैको मिलेमतो छ कि छैन भन्ने कुरा छानबिन समितिले स्पष्ट गर्ला ।’ एक वर्ष पनि जेल सजाय नकाटेका र पहिले पनि भागिसकेका व्यक्तिलाई कारागार प्रशासनले भाइ–नाइके बनाएर लापरबाही गरेको देखिएको प्रहरीको भनाइ छ ।
कारागारका नाइके वा भाइ–नाइकेहरूलाई अरू कैदीबन्दीभन्दा अलग सुविधा हुन्छ । अरूसँगै नराखी छुट्टै घरमा बाहिर खुल्ला बस्न पाउने सुविधा हुन्छ । उनीहरूलाई हतकडी पनि लगाइँदैन । त्यसैको फाइदा उठाउँदै जिल्ला कारागारभित्रको एउटा सानो घरको छतमा चढेर अजितले १६ फिट अग्लो पर्खालबाट हाम्फालेर भागेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले बताए । प्रहरीले उनको खोजीका लागि जिल्लामा व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्