बाँके ।
कोहलपुर नगरपालिका वडा नम्बर– ११ स्थित कोहलपुर नगर विकासको जग्गा राष्ट्रसेवक कर्मचारीबाट समेत अतिक्रमण गरी संरचना निर्माण गर्ने काम भएको पाइएको भन्दै तत्काल संरचना खालि गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।
क्रिकेट मैदान आसपासको नगर विकासको अतिक्रमित जग्गामा वहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवार समेत बसेको सुन्न आएकाले त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न बाँके प्रशासनले आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीद्वारा हस्ताक्षरित सूचनामा अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानून अनुसार कारवाहीको चेतावनी दिइएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र अनाधिकृत भूमी अतिक्रमित बनाइएका संरचना हटाउने सम्बन्धमा भदौ ४ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा नगर विकासको अतिक्रमित जग्गा खाली गराउने सहमति भएको थियो ।
सोही अनुसार कोहलपुर नगर विकासले ७ दिनको समय दिएर अतिक्रमित संरचना खाली गर्न सूचना जारी गरिसकेको छ । भदौ ४ गतेको सर्वदलीय तथा सर्वपक्षीय छलफलले अतिक्रमित जग्गा खाली गराउने सहमति गरिसकेको छ ।
सुकुम्बासीका नाममा राष्ट्रसेवक कर्मचारीदेखि लिएर सम्पन्न परिवारका व्यक्तिले समेत नगर विकासको जग्गा अतिक्रमण गरेका छन् । अहिले क्रिकेट मैदान आसपासको नगर विकासको जग्गा अतिक्रमण गरेर ६१८ घरधुरी बस्दै आएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्