बाँके ।
बाँकेका छुट्टाछुट्टै स्थानमा रहेका तलाउमा डुबेर शनिबार दुई युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बैजनाथ र जानकी गाउँपालिकामा दुई युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
बैजनाथ गाउँपालिका– ३ मा रहेको भाइरल महेन्द्र तालमा डुबेर कोहलपुरका एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका– १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्की रहेका छन् ।
शनिबार दिउँसो उनी अन्य तीन जना साथीहरुसँगै घुम्न भाइरल महेन्द्र तालमा गएका थिए । उनका साथीहरु भने सकुशल रहेका छन् ।
पौडी खेल्ने क्रममा सुरेश डुबेपछि साथीहरुले स्थानीयलाई खबर गरेका थिए ।
स्थानीय र प्रहरी उद्दारका लागि तत्कालै जुटेपनि उनी नभेटिएपछि सशस्त्र प्रहरीलाई खबर गरिएको थियो । केही घण्टापछि तालिमप्राप्त सशस्त्र प्रहरीले तालबाट सुरेशको शवलाई बाहिर निकालेका थिए ।
यस्तै शनिबार नै जानकी गाउँपालिका– ४ गिजरा नजिकै रहेको बेलहनी नालामा डुबेर एक युवकको मृत्यु भएको छ । इट्टा भट्टा नजिकै रहेको बेलहनी नालामा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
डुबेर स्थानीय २१ वर्षीय किरण बर्माको मृत्यु भएको हो । साथीहरुसँग पौडी खेल्न गएका उनी डुबेका थिए ।
दुबै घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्