आन्तरिक आय बढाउने गृहकार्यमा लुम्बिनी सरकार



बाँके ।

लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने गृहकार्य थालेको छ ।

विगत आर्थिक बर्षभन्दा यस बर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त बैदिकले जानकारी दिए । ‘हामीले यस बर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौं’, उनले भने, ‘त्यही अनुसार कसरत भइरहेको छ ।’

लुम्बिनीमा गएको आर्थिक वर्ष २०७९/०८० मा २ अर्ब ६० करोड ९५ हजार रुपैयाँ आम्दानी भएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५०.१७ प्रतिशत मात्रै हो । तर, चालु आर्थिक बर्ष २०८०/०८१ मा आन्तरिक आम्दानी बृद्धि गरेर ६ अर्ब ७३ करोड ५१ लाख पु¥याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

उनका अनुसार लामो समय नवीकरण नगरेका सवारी साधनहरुलाई कर छुट गरेर भएपनि करको दायरामा ल्याउन लागिएको छ । जसबाट सवा एक अर्बले राजश्व वृद्धि हुने अपेक्षा गरिएको उनले बताए । त्यस्तै वन क्षेत्रको खोला खोल्सी व्यवस्थापनबाट ७५ लाख क्यूविक फिट वन पैदवार र नदीजन्य पदार्थ संकलन गरी साढे एक अर्बले बृद्धि हुने लक्ष्य लिईएको छ ।

गएको आर्थिक बर्षमा वनबाट १४ करोड ६० लाख र सवारीबाट एक अर्ब ५५ करोड मात्रै आम्दानी भएको थियो ।

अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शुल्क, विज्ञापन कर, मनोरञ्जन कर, कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोतको संकलन तथा बिक्री शुल्क, वातावरण तथा औद्योगिकरण ब्यवस्थापन दस्तुर, राजस्वको बाँडफाँड र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यवसाय सम्बन्धी विशेष व्यवस्थापन लगायतबाट प्रदेश सरकारले आम्दानी लिदै आएको छ ।

करको दर नभई दायरालाई फराकिलो बनाई राजश्वका स्रोतहरु विस्तार गर्नु, राजश्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नु जस्ता कार्यबाट विगत भन्दा आन्तरिक आम्दानीमा वृद्धि हुने मन्त्री मास्कीले दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार