मनससुनजय विपद् न्युनिकरणका लागि पूर्वतयारी गरेका छौं



बाँकेमा विपद् पूर्वतयारी कस्तो छ ?
नेपालमा मनसुन सुरु भइसकेको छ । पछिल्लो केही दिनयता बाँकेसहित पश्चिम तराईमा पानी परिरहेको छ । विपद्का हिसाबले बाँके जोखिम जिल्ला हो ।

त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी गरिरहेको छ । यस वर्ष बाँकेमा हुन सक्ने विपद्को पूर्वानुमान गरिएको छ । कुन क्षेत्रमा कति संख्या प्रभावित हुन सक्छन् भन्ने कुरासमेत अनुमान गरिएको छ ।
जिल्लास्थित सरोकारवालालाई विपद्सम्बन्धी जानकारी, पूर्वतयारी अवस्थामा रहन पनि सचेत गराएइएको छ ।

यहाँका सुरक्षा निकाय, विभिन्न संघ संस्था तथा स्थानीय तहसमेत विपद्को पूर्वतयारी अवस्थामा छन् ।

कुनै पनि बेला विपद् आइहालेको खण्डमा विपद्बाट प्रभावित हुन नदिन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियरुपमा लागिपरेको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासमेत बनाइएको छ । सबै संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

 

बाँकेमा यस वर्ष विपद्बाट कति नागरिक प्रभावित हुने पूर्वानुमान गरिएको छ ?

जिल्ला विपद् व्यवस्थापन समितिले विपद् प्रतिकार्य योजना निर्माण गरिसकेको छ । यसपटक जिल्लामा विपद् आइहालेमा प्रभावित हुन सक्ने नागरिकको पूर्वानुमानसमेत गरिएको छ । हामीले यस वर्ष करिब ७० हजारभन्दा माथि नागरिक प्रभावित हुन सक्ने पूर्वानुमान गरेका छौँ ।

१५ हजारभन्दा बढी घरपरिवार प्रभावित हुनसक्ने हाम्रो अनुमान छ । वर्षायाम लागेसँगै त्योभन्दा अगाडि नै हामीले जिल्लास्थित सरोकारवाला निकायहरुसँग छलफल गरेर सल्लाह सुझाव लिएर प्रतिकार्य योजना निर्माण गरिएको हो ।
यो समितिले गरेको अनुमान मात्रै हो । हामी सबै सक्रियरुपमा अघि बढ्यौँ भने त्यस्तो क्षति हुनबाट रोक्न सकिन्छ । विपद्बाट सबै पूर्वतयारी अवस्थामा रहनुपर्छ ।

 

रुपन ज्ञवाली
सूचना व्यवस्थापन अधिकृत
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँके

बाँकेमा सबैभन्दा धेरै कुनकुन विपद्को जोखिम छ ?
बाँके विभिन्न प्रकार जोखिम भएको जिल्ला हो । बाढी बाँकेको सबैभन्दा धेरै प्रभावित पार्न सक्ने विपद् हो । बाढीबाट आमनागरिकलाई बचाउन र नराम्रो घटना घट्न नदिन पूर्वतयारी थालिएको छ । विशेष गरेर राप्ती नदी र अन्य बाढीबाट यहाँको ठूलो जनसंख्या प्रभावित हुन्छ ।

जिल्लाका तीनवटा पालिका यसबाट प्रत्यक्ष प्रभावित हुन्छन् । राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट यसबाट धेरै नै प्रभावित हुने गरेका छन् । यस्तै जिल्लाको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा समेत बाढीले प्रभावित गरेको इतिहास छ ।

यसपटकको मनसुनमा राप्ती नदी तथा तटीय क्षेत्रमा रहेका नागरिकहरुलाई नार्गेटमा राखेर हामीले नीति तथा कार्यक्रम निर्माण गरेका छौँ । बाँकेमा मौसमजन्य विपद् हुने गरेका छन् ।
सुख्खा समयमा आगलागीको बढी जोखिम हुन्छ । यस्तै चिसो समय शीतलहरका कारण पनि यहाँको जनसंख्या बढी प्रभावित हुने गरेको छ । कोभिड–१९ को बेला पनि हामी निकै प्रभावित भयौँ । यतिबेला वर्षाको समय हो । त्यसैले सबैभन्दा धेरै बाढीको नै जोखिम छ । हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि बस्ती स्तरसम्मका जोखिम क्षेत्रको पहिचान गरिएको छ ।

विपद् जोखिम न्यूनीकरणका लागि कुनकुन संयन्त्र सक्रिय रहन्छन् ?
जिल्लामा विपद् व्यवस्थापन समिति तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्र जिल्लामा सक्रिय रहेको संयन्त्र हो । हाम्रो संरचना जिल्ला, पालिका तथा वडा तहसम्मै छ ।

प्रत्येक पालिकामा पालिकास्तरीय विपद् व्यवस्थापन समिति छन् भने वडामा समेत वडास्तरीय विपद् व्यवस्थापन समिति सक्रिय रहन्छ । यतिमात्रै होइन विभिन्न संघ संस्थासमेत विपद् व्यवस्थापनमा लामो समयदेखि खटिरहेको अवस्था छ । यसका साथै निजी क्षेत्र, प्राज्ञिक संस्था, सञ्चार तथा सुरक्षा निकायको सक्रिय रहन्छन् ।

सम्भावित क्षति न्यूनीकरणका लागि कस्तो तयारी छ नी ?
विपद् भन्ने कुरा एक्कासी हुने कुरा हो । विपद्बाट जोखिम पूर्वतयारी तथा सचेत रहनु सबैभन्दा बुद्धिमता हो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सम्बन्धित निकायलाई बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि निर्देशन दिने निर्णय गरेको छ । कटान र बाढीका कारण हुने क्षति न्यूनीकरण गर्न मातहतका सबै निकाय पूर्वतयारी अवस्थामा छन् ।

क्षतिबाट जोगाउन आवश्यक पर्ने सामग्रीसमेत व्यवस्थापन भइसकेको छ ।
बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला र डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रहरूमा कटान र बाढीका कारण क्षति हुनसक्ने आँकलन गरेको छ ।

ती क्षेत्रहरुलाई विशेष प्राथमिकतामा राखेर समितिले काम गरेको छ । यी क्षेत्रमा संयन्त्रहरुलाई विशेषरुपमा खटाइएको छ । सम्बन्धित पालिका पनि सचेतरुपमा लागिरहेको छ । सुरक्षा निकायको ध्यानसमेत त्यही रहेको छ ।

पछिल्लो उदाहरणका रुपमा भन्दा हिजो मात्रै राप्ती नदीमा फसेकाहरुको हामी उद्दार गर्न सफल भयौँ । हाम्रो पूर्वतयारी कै कारण मानिसको अकाल ज्यान जानबाट रोकियो ।

विपद् व्यवस्थापनका लागि स्थानीय सरकारसँग कत्तिको समन्वय गर्नु भएको छ ?
विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय सरकार महŒवपूर्ण संयन्त्रको रुपमा रहेका छन् । स्थानीय सरकार आफैँमा स्वयत्त छ । विपद् व्यवस्थापन स्थानीय सरकारको क्षेत्राधिकारको विषय पनि हो ।

त्यसैले जिल्ला विपद् व्यवस्थापन समितिको विपद् प्रतिकार्य योजना निर्माण र सहजीकरणमा स्थानीय सरकारहरुको भूमिका महŒवपूर्ण छ । बाँकेका आठवटै स्थानीय सरकार विपद् व्यवस्थापनमा गम्भीररुपमा लागेका छन् ।

जिल्लाका बहुसंख्यक स्थानीय सरकारले पालिकास्तरीय विपद् व्यवस्थापन समिति निर्माण गरेका छन् । सोहीअनुसार पालिकामा विपद् व्यवस्थापनको कार्य हुने गरेको छ ।
यस्तै वडा स्तरमा समेत विपद् व्यवस्थापन समिति सक्रिय छ । टोल विकास संस्थाहरुमा वडामा सक्रिय छन् । प्रत्येक पालिकामा विपद् फोकल पर्सन छन् । विपद्को सूचना प्रवाहलाई समेत प्रभावकारी बनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारबीच सुमधुर सम्बन्ध छ । हामी विपद् व्यवस्थापनका लागि गम्भीररुपमा लागेका छौं । समयमै रोकथाम तथा आपतकालीन तटबन्धको लागि काम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय भएअनुसार हामी जतिबेला पनि पालिकादेखि वडामा रहेका समितिलाई सक्रिय बनाउन सक्छौं ।

आपकालीन अवस्थामा जनशक्ति चाहिँ कसरी परिचालित हुन्छन् ?
विपद् व्यवस्थापनमा सबैभन्दा बढी आवश्यक पर्ने भनेको जनशक्ति नै हो । त्यसैले जनशक्ति परिचालनलाई हामीले मुख्यरुपमा हेरेका छौं । त्यसका लागि तालिम प्राप्त जनशक्ति आवश्यक हुन्छन् । सोहीअनुसार विशेष गरेर सुरक्षा निकायलाई बढी परिचालन गरिन्छ ।

त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लास्थित तीनवटै सुरक्षा निकायसँग समन्वय गरेको छ । विपद्को बेला नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिन्छ । पालिकास्तरबाट स्वयम्सेवकसमेत परिचालन हुन्छन् । विपद्को समयमा जनशक्ति अभाव हुन दिँदैनौं ।

अन्त्यमा, सम्भावित विपद्बाट जोगिन तथा पूर्वतयारी अवस्थामा रहन जिल्लावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?

विपद् पूर्वसूचना गरेर आउँदैन । विपद् जुनसुकै बेला पनि आउन सक्छ । त्यसैले विपद्बाट सचेत रहनुपर्छ । विपद्को पूर्वतयारी आवश्यक हुन्छ । म सम्पूर्ण बाँकेवासीलाई सचेत रहन आग्रह गर्न चाहन्छुँ । विशेष गरेर नदी तथा तटीय क्षेत्रका नागरिकलाई सचेत रहन विशेष अनुरोध गर्न चाहन्छुँ ।

यस्तो बेलामा स्वयम् व्यक्तिसमेत सचेत रहनु होला भन्न चाहन्छुँ । जिल्ला विपद् व्यवस्थापन समिति पनि सचेतरुपमा लागिरहेको छ । बाँकेमा कुनै पनि दुःखद् घटना हुन नदिन हामी एकजुट भए लाग्नुको विकल्प छैन । विपद्को सबैजना मिलेर समना गरौँ भन्न चाहुन्छँ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १८ गते सोमबार