कोहलपुर (बाँके)
कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसको समृद्धिका लागि हातेमालो आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । बाँके जिल्लाको उत्कृष्ट शैक्षिक संस्थाको विकास गर्नको लागि सबैजना सरोकारवाला निकायहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । शनिबार आयोजित क्याम्पसको समृद्धिमा जनप्रतिनिधि तथा सरोकारवाला निकायको भूमिका विषय अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका थिए ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सुर्यप्रसाद ढकालले बागेश्वरी बहुमुखी क्याम्पसको विकासको लागि उन्नत बनाउँदै लैजान दिगो आर्थिक स्रोत, प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए । उनका अनुसार क्याम्पसमा शान्त शैक्षिक वातावरण, गुणस्तरीय पठनपाठन, भौतिक सुविधासम्पन्न पुस्तकालय र योजनाबद्ध कार्यक्रम आवश्यक रहेको छ । त्यसको लागि आफू जनप्रतिनिधिको तर्फबाट भूमिका खेल्न आफू तयार रहेको उनले बताए ।
यस क्षेत्रका अभिभावक, बुद्धिजीवी, राजनीतिकर्मी तथा विभिन्न पेसामा आबद्ध जनसमुदायको सद्भाव प्राप्त गर्न सक्षम गराई यस क्याम्पसलाई सामुदायिक क्षेत्रद्वारा सञ्चालित नेपालकै अग्रणी शैक्षिक प्रतिष्ठानका रूपमा स्थापित गराउने बताएका छन् । क्याम्पसको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गरीले बताएका छन् ।
उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले शिक्षा विकास अहिलेको आवश्यकता रहेको बताइन् । शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक धार त्याग्नु पर्ने उनले बताइन् । क्याम्पसलाई प्राविधिमैत्री बनाई लाइब्रेरी कक्षाको व्यवस्थापनमा जोड दिनुपर्ने उनले बताइन् ।
उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जुकुमारी चौधरीले शिक्षालाई व्यवसायिक रुपमा स्थापित गराउनको लागि लुम्बिनी सरकारबाट सहयोग गरिने बताइन् ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले बाँके जिल्लाको दोस्रो ठुलो शैक्षिक स्तरका रुपमा निर्माण गर्न र सम्वृद्ध विकास र प्रविधिमैत्री बनाउने गरी भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको बताए । बागेश्वरीलाई केन्द्रिय क्याम्पसको रुपमा स्थापित गराउनको लागि जनप्रतिनिधिको ध्यान जान आवश्यक भएको बताएका छन् । यसका लागि क्याम्पसले निरन्तर प्रयास गरिरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्