अवैध उत्खननमा संलग्न वडाध्यक्ष र वनका अध्यक्षको ट्याक्टर नियन्त्रणमा



मिसन संवाददाता
नेपालगन्ज, ७ असार
खोला बन्द भएको बेला अवैध बालुवा उत्खनन गरी ल्याउँदै गरेको दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झंकबहादुर थापा र गोकुल सामुदायिक वन उपभोक्ता समूह कम्दीका अध्यक्ष टुन्नु भन्ने राजेश यादवको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला समन्वय समितिको एक टोलीले डुडुवा–५ खजुरा गौढी खोलाबाट अवैध बालुवा उत्खनन गरी ल्याउँदै गर्दा ट्याक्टरलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कम्दीले जनाएको छ । स्थानीयले दिएको सूचनाको आधारमा समन्वय समितिको सहयोगमा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

जेठ ३२ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार बन्द भएका बेला वडाध्यक्ष र वनका अध्यक्षको दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जनाइएको छ ।
कम्दीस्थित खोलाबाट अवैध उत्खननको कार्यलाई यसपटक गाउँपालिका र प्रहरीले विशेष निगरानी गरेका छन् । गाउँपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन गरी ल्याउने टिप्पर, ट्याक्टरलाई नियन्त्रणमा लिइ कडा कारबाही गर्ने जनाएको छ । अवैध उत्खनन गर्ने बारेमा सूचना दिने व्यक्तिलाई विशेष पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार