जानकीको बजेट ४६ करोड



 

मिसन संवाददाता,कोहलपुर
जानकी गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०÷०८१ का जानकीले ४६ करोड १० लाख ८९ हजार ६ सय १६ रुपैयाँको बजेट ल्याएको हो ।
वडा नम्बर ६ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता टीकानाथ यादव बजेट प्रस्तुत गरेका थिए । सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको छ । शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले १ करोड ६९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ २६ लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


जानकी गाउँपालिकाले कृषि, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिएको छ । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीका भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रम र बजेटलाई नागरिकमैत्री र कार्यान्वयनमुखी बनाइएको उनले जनाए ।

त्यस्तै डुडुवा गाउँपालिकाले आगार्मी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१(१) र अन्तरसरकारी बित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१(३) राजश्व र व्यय (बजेट) अनुमान प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय सभामा पेश गरिसक्नु पर्ने भन्ने व्यवस्था गरेको छ ।

डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर गुरुङले गाउँपालिकाको आवश्यक र औचित्य पुष्टि हुने गरी नीति तथा कार्यक्रम प्रमुख भएको बताए ।

डुडुवाले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ छ । यस्तै कृषि क्षेत्रको आधुनिकीकरण, सडक पूर्वाधार विकास, विद्युत् र खानेपानी गाउँपालिकाका प्रमुख प्राथमिकताका रुपमा छन् ।
असार ८ गते (आज) कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार असार १० गते बजेट प्रस्तुत गर्ने तयारी छ । यस्तै कोहलपुर नगरपालिकाले यसअघि नीति तथा कार्यक्रमको विषयमा सुझाव संकलन नै आयोजना गरेको थियो ।

नगरवासीबाट प्राप्त सुझावहरुलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।
नेपालगन्जका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार नेपालगन्जमा बजेट भने असार ९ गते (भोलि) प्रस्तुत गर्दैछ ।
राप्ती सोनारी गाउँपालिकामा भने असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ ।
नरैनापुरमा पनि असार १० गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी थालिएको अध्यक्ष मोहम्मद अहमद् शाहले जनाए ।
बैजनाथ गाउाँपलिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले गाउँपालिकाले असार ९ गते ( भोली) नीति तथा कार्यक्रम र असार १० गते बजेट प्रस्तुत गर्ने तयारी गरेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार