विपन्न महिला दिदीबहिनी प्रगतिको पथमा



बर्दिया जिल्लाको साविकको सोरहवा गाविस ९ र हाल बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा अवस्थित पिपलपुर गाउँ । यो थारु समुदायको बाहुल्य भएको बस्ती हो । पिपलपुरको पूर्वमा मानखोला (बाँके जिल्लाको सीमाना), पश्चिममा सोरहवा गाउँ, उत्तरमा खैसा ईट्टाभट्टा र दक्षिणमा पुष्पनगर भन्ने गाउँ रहेको छ ।

यहाँ बसोबास गर्ने मानिसहरु धेरै जसो निम्न आयस्तरका छन् । त्यहाँका महिलाहरुले धेरै पढेका छैनन् । तर पनि काम गर्न नयाँ कुराहरु सिक्न नै अति नै रुचि राख्छन्, यहाँहरु महिला दिदी बहिनीहरु । व्यवसायको रुपमा कुनै निश्चित पेशा पनि छैन । तर,केही दिदीबहिनीहरुले भने आफ्नो जिविकोपार्जनको लागि सानोतिनो पसल र गाईवस्तु पालन गर्दै आएका छन् ।

उनीहरु आफूआफू मिली एउटा आमा समूहको गठन गरेछन् । यो समूह तीन वर्ष अघि गठन गरिएको हो । जन जागरण महिला संघ र टेवा नेपाल (काठमाडांै) को सहयोगमा समूह गठन गरिएको थियो । त्यस समयमा टेवा नेपाल र जनजागरण महिला सघंको साझेदारीमा बाख्रा हस्तान्तरण कार्यक्रम गरिएको थियो ।

जसमा सबै दिदीबहिनीहरुलाई बाख्रा प्राप्त गरेका थिए । त्यो भन्दा पहिले त्यहाँका सबै मानिसहरु ज्याला मजदुरी गर्थे, साँझ बिहान खाना खान पनि धौ–धौ हुन्थ्यो । आर्थिक स्थिति निकै कमजोर थियो । जीवनयापनको लागि ज्याला मजदुरी नै एउटा मात्र स्रोतको रुपमा थियो ।

टेवा नेपालले त्यस ठाउँमा बाख्रा दिएर सहयोग गरेपछि त्यस समूहका सबैले बाख्रा पाल्न थाले । त्यसबेला दिइएको शिक्षा र बाख्रा उहाँहरुको लागि जीवनभरको सफलताको माध्यमको रुपमा सावित भयो । त्यस बेला दिएको एउटा बाख्राको सहयोगबाट उहाहरुले धेरै बाख्राको संख्यामा वृद्धि गरे ।

त्यस समूहले फेरि अर्को आफू जस्तै समुदायका महिलाहरुलाई राखेर दिदीबहिनी समूह गठन ग¥यो । दिदीबहिनीहरुलाई आफूले पाए जस्तै १÷१ वटा बाख्रा उपहार दियो । दिदीबहिनीहरुको निरन्तर प्रयासले बाख्राको सख्यामा वृद्धि हुनुको साथै बाख्रा बेचेर समूहमा नै पैसा बचत गरे । विस्तारै त्यस ठाउँमा तरकारी खेतीपनि गरियो ।

त्यसलाई पनि बेचेर समूहमा नै पैसा जम्मा गरियो ।
आवश्यक पर्दा त्यही पैसाबाट एक अर्काको सहयोग गर्न थालियो । यसरी दिदीबहिनीको निरन्तर प्रयासबाट आज यो समूह अहिले सहकारीमा पनि दर्ता भैसकेको छ ।

अहिले पनि त्यो समूहमा निरन्तरता छ । उहाँहरुको त्यो समूहमा १९ जना महिलाहरुको मात्र समूह छ । समूहकी अध्यक्ष जुगनी थारुले नियमित रुपमा प्रत्येक महिनामा १ पटक २ गतेका दिन ११ बजे समूहको बैठक बस्ने गर्दछ । उनीहरुले समूहमा वचत गर्नुको साथै आवश्यक पर्दा त्यो पैसा समूहका महिलाहरुलाई व्यवसाय, पशुपालन र तरकारी खेतीको को लागि सहयोग गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार