क्षयरोगका बिरामीलाई पोसिलो खानेकुरा वितरण



कोहलपुर,  कोहलपुर नगरपालिकामा रहेका क्षयरोगका बिरामीलाई पोषण ‘फुड बास्केट’ वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच २१ जना बिरामीलाई पोषणयुक्त खाद्यान्नसहितको फुड बास्केट वितरण गरिएको हो ।
उनीहरुलाई २० किलो चामल, दुई किलो दाल, एक किलो भेजिटेवल तेल, साढे एक किलो बदाम, एक क्यारेट अण्डा र एक किलो सर्वोत्तम पीठोसहितको फुड बास्केट वितरण गरिएको छ ।

कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीले बिरामीलाई वितरण गरेकी थिइन् । उनले स्थानीय तहले डिएस बिरामीलाई ६ महिना र डिआर बिरामीलाई २० महिनामा प्रतिव्यक्ति÷प्रति महिना तीन हजार रुपैयाँसम्मको फुड बास्केटको व्यवस्था गरेको बताइन् ।


स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ । कुनैबेला भयावह र डर लाग्दो मानिने टिबी रोग पछिल्लो समय सामान्य बन्दै गएको भन्दै सचेतता अपनाउन भने जरुरी रहेकोमा उनले जोड दिइन् । सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकालाई टिबी रोगमुक्त गराउन पालिका प्रतिबद्ध रहेको बताए । उनले टिबी रोग सरुवा रोग भएकाले बिरामी स्वयम्ले सचेतता अपनाउनु पर्ने बताए ।
बिरामीले नियमित औषधिको सेवन गर्ने हो भने लक्षित समयमा कोहलपुर नगरपालिकाबाट टिबी रोग निवारण हुने विश्वकर्माको भनाइ छ । नगर स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले टिबीको औषधि नियमित खाइरहेका बिरामीको पोषणमा सुधार ल्याउन फुड बास्केट वितरण गरिएको बताए । रोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकालाई उनीहरुलाई पोषणयुक्त खाद्यवस्तुको आवश्यकता पर्ने भएकाले पोषणयुक्त खाद्यवस्तुसहितको सामग्री उपलब्ध गराइएको उनले बताए ।
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने काम भइरहेको उनले बताए । नेपाल सरकारले सन् २०५० सम्म नेपालबाट क्षयरोग निवारणको लक्ष्य लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार