कोहलपुर,लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले कोहलपुरमा रहेका मुक्त कमैयालाई कामकाजी लालपुर्जा दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् । लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको चौथो बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

हजारौँ संख्यामा रहेका मुक्त कमैयालाई राज्यले लालपुर्जा दिएको तर, कागजको खोस्टो जस्तो मात्रै भएको भन्दै कामकाजी लालपुर्जाका लागि सक्रियता बढाउन माग गरेकी हुन् । ‘कोहलपुरमा मुक्तै कमैया छन् । उनीहरुलाई राज्यले लालपूर्जा दिएको छ । त्यो लालपूर्जा कागजको खोस्टामा मात्र सीमित छ,’ उनले भनिन्, ‘त्यो लालपूर्जा न धितो राख्न पाइन्छ । न किनबेच गर्न मिल्छ ।’ उनले उक्त लालपुर्जा कामकाजी होस् भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
मुक्त कमैयाका छोराछोरीलाई आत्मनिर्भर बनाउने गरी लालपुर्जा फुकुवा गर्न प्रदेशसभा सदस्य अधिकारीले माग गरिन् ।
२०५७ साल साउन २ गते बाँके, बर्दिया, दाङ, कैलाली र सुर्खेतमा रहेका मुक्त कमैयालाई मालिकबाट मुक्त भएको दिन थियो । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा बसेका आठ सय ३७ जना लालपूर्जाविहीन छन् । अहिले पनि कामदारअर्थात कमैयाकैरुपमा काम गरिरहेका छन् ।
उक्त अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न समस्या समाधानका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्नसमेत जोडदार माग गरिन् ।
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्ती नदी, डुडुवा खोला, रोहिणी, किरणनाला, रानीघाँट पेडारी नालाले वर्षायाममा जनताले बर्सेनि सास्ती भोगिरहेको उनको भनाइ छ ।
‘त्यसका लागि जनधनको क्षति हुने गरेको छ । खेतीयोग्य जमिन मासेको छ । खोला कटानको चरम समस्या छ,’ उनी भन्छिन्, ‘यस आर्थिक वर्षमा तटबन्धनका लागि बजेट विनियोजन गरिनुपर्छ ।’ यातायात व्यवस्था कार्यालय भारतको सिमाना नजिक राखिएको भन्दै उनले कोहलपुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिका र केही हदमा डुडुवा र जानकीका नागरिकलाई सेवा लिन निकै सास्ती भएको उनले बताइन् । ट्रायल सेन्टर कोहलपुरमा छ । यातायातको कोहलपुरमा साढे दुई बिगाहा जमिन छ । कोहलपुरमै यातायात व्यवस्था कार्यालय स्थापना हुनुपर्नेमा उनले जोड दिइन् ।









प्रतिक्रिया दिनुहोस्