मिसन संवाददाता
नेपालगन्ज,
डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटबाट विनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघीय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट विनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम सञ्चालन हुन सकेन ।
बजेट कटौतीले गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न ९चालुगत तथा पूँजीगत० कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोततर्फको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन हुन नसेकेको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराएका थिए ।
हाल सञ्चालनमा रहेका विभिन्न आयोजनामा स्रोत सुनिश्चिता गर्नुपर्ने र कार्यालय सञ्चालनका लागि अनिवार्य दायित्वहरु तलबभत्ता पानी बिजुली पदाधिकारी सेवा सुविधा इन्धन, सञ्चार र मसालन्द तथा कार्यालय सामग्री शीर्षकमा समेत स्रोत सुनिश्चित गरी भुक्तानी गर्न चालु आर्थिक वर्षको कार्यक्रमको संशोधन प्रस्ताव सर्वसम्वतरुपमा पारित गरिएको हो ।
सभामा अध्यक्ष चौधरीले चालु आर्थिक वर्षमा जनप्रतिनिधिबीच आपसी विवाद, ढिलो गरी बजेट पास र आर्थिक मन्दीले सरकारले गरेको बजेट कटौतीले गाउँपालिकाले खासै उपलब्धि गर्न नसकेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम तथा अभियान लागु गरी लुम्बिनी प्रदेशकै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढ्ने बताए ।
सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले पनि योजना तथा कार्यक्रमका बारेमा बोलेका थिए । सदस्य सचिव अशोककुमार पाण्डेले सञ्चालन गरेको गाउँसभामा ३२ जना सभा सदस्यमध्ये २२ जनाको उपस्थिति रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुईपटक गाउँसभा बस्नुपर्ने प्रावधानअनुरुप सभा बसेको हो ।









प्रतिक्रिया दिनुहोस्