चिकित्सक र मेडिकल विद्यार्थीलाई ‘हेपाटाइटिस बि’ खोप



कोहलपुर,  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत मेडिकल विद्यार्थी र चिकित्सकलाई हेपाटाइटिस बिको खोप लगाइएको छ । मेडिकल कलेजका विभिन्न वार्डमा ड्युटी गर्ने चिकित्सक र मेडिकल विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका लागि हेपाटाइटिस बिको खोप लगाइएको हो ।
रोट्याक क्लब अफ नेपालगन्ज मेडिकल कलेजका सचिव डाक्टर नवलकिशोर शाहका अनुसार सधै विभिन्न वार्डमा ड्युटी गरिरहने स्वास्थ्यकर्मीहरुलाई हेपाटाइटिस बि सर्ने जोखिम भएकाले खोप लगाइएको छ ।

‘यो खोपको तीनवटा डोज लगाउनुपर्छ । स्वास्थ्यकर्मीहरु बढी जोखिममा हुन्छन्,’ उनले भने, ‘त्यसैले सुरक्षाका लागि खोप लगाइएको हो ।’ शुक्रबार एक कार्यक्रमका बीच एक सय २० जनालाई उक्त खोप लगाइएको क्लबका सचिवसमेत रहेका कार्यक्रम संयोजक शाहको भनाइ छ ।
हेपाटाइटिस बिसम्बन्धी सम्पूर्ण नागरिकमा जानकारी हुन आवश्यक रहेको उनले बताए ।

सबैले सकभर खोप अनिवार्य लगाउनुपर्नेमा उनले जोड दिए । हेपाटाइटिस बि समस्याका रुपमा रहेको भन्दै समाधानका लागि खोप आवश्यक रहेको सचिव शाहले बताए । खोप लगाउँदा थोरै साइड इफेक्ट देखिने भए पनि गम्भीरखालको समस्या नहुने उनले बताए । उक्त अवसरमा क्लबकी एडभाइजर तथा एसोसियट प्रोफेसर डाक्टर प्रज्ञा गौतम घिमिरेले क्लबले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

उनले क्लबले अहिलेसम्म क्यान्सरसम्बन्धी अभिमुखीकरण, विद्यालयमा जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न रोगका विषयमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको उनले बताइन् । यस्तै रक्तदान कार्यक्रमका साथै प्रपोजल टाइटिङलगायतका कार्यक्रम क्लबले आयोजना गरेको उनको भनाइ छ ।

उक्त अवसरमा बोल्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार सिंहले मेडिकल कलेजले स्वास्थ्य सेवा मात्रै नभएर समाज सेवासमेत गर्दै आएको बताए । उनले विभिन्न रोगविरुद्ध जनचेतनासमेत फैलाउन आवश्यक रहेको भन्दै आगामी दिनमा पनि क्लबलाई विभिन्न कार्यक्रमको लागि सहजीकरण गर्न आफू तयार रहेको बताए ।
उक्त कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत मेडिकल विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ६ गते शनिबार