24 September 2023  |   आइतवार, अशोज ७, २०८०

रोविन तामाङको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक (भिडिओ)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २४, २०८०  

काठमाडौं ।

रक गायक रोविन तामाङको गत मंगलबार निधन भयो। उनको पार्थिव शरीरलाई आज अन्त्येष्टि गरिँदैछ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रमा उनको उल्लेखनीय योगदान छ। उनै गायक रोविनको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ।

निर्देशक निरञ्जन पाण्डेले यो गीत फिल्म ‘धुवाँ’ को लागि तयार पारेका थिए। उक्त फिल्म सन् २०२५ मा छायांकन गर्ने बताइएको छ। रोविन तामाङको असमायिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै गीत सार्वजनिक गरेको पाण्डेले बताए।

एमआईसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले जिन्दगीलाई धुुवाँमा नउडाउन सन्देश दिएको छ। गीतमा रोविनलाई गायक राजेश पायल राईले साथ दिएका छन्। गीतको भिडिओमा रोविन र राजेशलाई देख्न सकिन्छ।

सुरेश राईको शब्द तथा संगीत रहेको गीतको र्‍यापको शब्द रोविनले लेखेका हुन्। सोनाम तामाङले छायांकन गरेको गीतको भिडिओलाई निरञ्जन पाण्डेले सम्पादन गरेका छन्।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए।

उनले ‘मेरो माया, ठिक छ, माया देउ धोका न देउ, केटा केटी, भुलमा भुलियो’ लगायत गीत गाएका छन्। छड्केबाहेक उनले ‘मुखौटा, जय पशुराम, चिसो एस्ट्रे’ लगायत फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित मितिः आइतवार, असार २४, २०८०     8:26:20 PM  |