स्वाथ्यकर्मीलाई धम्की दिने पक्राउ



सुर्खेत ।

दैलेखको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ ।

उनीहरुले विरामीलाई किन उपचार नगरेको भन्दै चिकित्सकमाथि धम्की दिएका थिए । नौमुले गाउँपालिका स्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन सो स्वास्थ्य संस्थाको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । ती युवाले आफूहरुलाई अभद्र व्यवहार गरी स्वास्थ्य संस्था छाड्न धम्की दिएको चिकित्सक सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत २४ गते सोमबार