16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

बाँके निकुञ्जमा बढ्दैछन् पाटेबाघ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १, २०७४  

कोहलपुर, १ असार / बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्यामा वृद्धि हुँदै गएको छ । सन् २०१३ मा बाघको संख्या ३ रहेकोमा हाल बढेर ११ पुगेको छ । बाघ गणनाका क्रममा १३ वटा बाघ देखिएपनि २ वटा बाघ भने बर्दिया निकुञ्जबाट आउने जाने गर्ने गरेको बाँके निकुञ्जको भनाई छ ।
आहारा प्रजातिको संख्या बढ्दै गएको र बाघका लागि चाहिने वातावरणमा सुधार भइरहेकाले पाटेबाघको संख्या बढ्दै गएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापनले बताए । उनका अनुसार पाटेबाघ लगायत अन्य आहाराप्रजातीका वन्यजन्तुका लागि पानीको समस्या कम गर्न विभिन्न ठाउँमा पानीपोखरीहरु निर्माण गरिएको
छ ।
पानी पोखरी तल्लो क्षेत्रमा निर्माण गरिएपनि चुरे क्षेत्रमा भने पानी अभाव नै छ । निकुञ्जभित्र विभिन्न घाँसेमैदानहरु बनाउने क्रम जारी छ । बाघसँगै आहारजन्य प्रजाति चौका, जरायो, चित्तल, बँदेल, रतुवा लगायत पनि प्रशस्तै देखिएको छ ।
सन् २०१४ मा ४ र २०१५ मा ६ बाघ भेटिएका थिए । २०६७ सालमा स्थापना भएको निकुञ्ज ५५० वर्गकिलोमिटरमा फैलिएको छ ।
कस्तो अवस्थामा
बाघले आक्रमण गर्छ ?
पाटेबाघले त्यसै मानिसलाई आक्रमण भने गर्दैन ।
यसका पनि अवस्थाहरु छन् । डमरु साथमा भएको अवस्थामा, शिकार गर्न लागेको वा खान लागेका बेला, एकआपसमा जुधिरहेका बेला, भाले लाग्ने समयमा, बुढो, घाइते वा बिरामी भई भोको भएको अवस्थामा बाघले आक्रमण गर्ने सम्भावना हुन्छ ।
त्यस्तै पोथीले बच्चा लुकाएको ठाउँमा अचान पुगेमा, जम्काभेट भएर बाघले भाग्ने ठाउँ नपाएमा, मानिसलाई खाने बानी परेमा र बासस्थान कम भएको खण्डमा बाघले आक्रमण गर्ने बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले जानकारी दिए ।
त्यसो भए के गर्ने त ?
बाँके राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्रमा रुपमा उदाउँदै गरेको निकुञ्ज हो ।
यहाँ पाटेबाघ हेर्नका लागि र अध्ययन अनुसन्धान गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रनेछन् ।
यदि जंगलमा बाघ देख्यो भने नजिक जाने र जिस्काउने गर्न नहुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जापुन बताउँछन् । उनका अनुसार बाघको नयाँ पाइला भएमा त्यो बाटो नहिँड्ने, बाघ सुतेको अवस्था वा शिकार खान÷खुवाउन लागेको अवस्थामा पटक्कै हल्ला नगर्ने, अचानक बाघसँग जम्काभेट भएका सम्भव भए रुख चढ्ने त्यसो नभए चुप लागेर नचलिकन बाघलाई हेरी आँखा जुधाउँदै विस्तारै पछि पछि सर्दै सुरक्षित ठाउँमा जाने गर्नुपर्छ ।
त्यसैगरी पानीमा हाम नफाल्ने, जंगलमा हिँड्दा अन्य जनावरको संकेत याद गर्ने, समूहमा जंगल भएको खण्डमा बाघले आक्रमण गर्ने स्थिति देखिएमा एकै ठाउँमा भेला हुने र थपडी मारी बेस्सरी हल्ला गर्ने, नरभक्षी बाघ भएको ठाउँमा जाँदै नजाने, जंगलको छेउछाउमा बसोबास गर्ने मानिसहरुले आफ्नो वरीपरीको झाडी सफा गर्ने र साँझ परेपछि सुरक्षित स्थानमा बस्नुपर्ने प्रमुख संरक्षण अधिकृत पुर्जापुनले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, असार १, २०७४     2:03:02 PM  |