कोहलपुर, कोहलपुर नगर विकास समितिको स्वामित्वमा रही बहालमा लगाइएका घर सटरको सम्झौतामा कबुल गरिएको भाडामा १५ देखि २० प्रतिशतसम्म छुटको माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । व्यावसायिक हकहित संरक्षण समितिले बुधबार कोहलपुर नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले भाडामा छुट माग गरेका हुन् ।

उक्त ध्यानाकर्षणपत्रमा समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठ र सचिव तिलक सिंह कार्कीले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । दुई वर्ष अघिको कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासयी भएको र पछिल्लो समय आर्थिक मन्दीले असर पु¥याएकाले भाडामा छुट दिनु पर्ने व्यावसायिक हकहित संरक्षण समिति कोहलपुरका अध्यक्ष श्रेष्ठले जनाए ।
‘नगर विकास समिति तथा स्थानीय सरकार जनताको अभिभावक भएकाले यही कुरालाई मनन गर्नु जरुरी छ,’ उनले भने, ‘अवस्था सुधार भएपछि सम्झौताअनुसार घर सटर भाडा दिन हामीलाई कुनै गाह्रो छैन ।’ उनले अहिले व्यवसायीहरु धमाधम सटर बन्द गरेर पलायन हुने अवस्था सिर्जना भएको भन्दै उनले भने, ‘मापदण्ड बनाएर निजी घरको अगाडि जस्ता पाता (पाली) राख्न दिनु पर्छ ।’
‘नगर विकास समिति क्षेत्रभित्र रहेका निजी घरका अगाडि भागमा लगाइएका जस्ता पाता (पाली) भत्काइएको छ । जसका कारण गर्मी तथा वर्षायाममा बस्न नसकिने र बाटो हिँड्ने बटुवालाई पनि सहजताका लागि र सामान, लत्ताकपडा, घामले खुइलिएर नोक्सान हुने भएकाले कम्तिमा नगर विकास समितिले मापदण्ड बनाएर जस्ता पाता प्रयोग गर्न दिनुपर्छ,’ उनले भने ।
नगर प्रमुख आचार्यले नगरको समग्र विकासका निमित्त काम गरिरहेको भन्दै मागप्रति सकारात्मक रहेको बताए । उनले सबै पक्षबीच छलफल र परामर्श गरेर अघि बढ्ने विश्वास दिलाउए । ध्यानाकर्षणपत्र बुझाउन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य चक्र अधिकारी, समितिका संयोजक श्रेष्ठ, सहसंयोजक विष्णुप्रसाद खनाल, सचिव तिलक सिंह कार्की, समितिका सदस्य शेषकान्त शर्मालगायत नगरपालिका पुगेका थिए ।
व्यावसायिक हकहित संरक्षण समितिले पछिल्लो समय बैंकको ब्याजदर घटाउनु पर्ने मागसमेत राखेर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्