बाँसगढी बहुमुखी क्याम्पस : शिक्षालयमा राजनीतिक प्रतिस्पर्धा



मधूर पौडेल
बाँसगढी

शिक्षालयमा राजनीति घुस्दा त्यसको प्रभाव विद्यार्थीको पठनपाठनमा देखिन्छ । यसका उदाहरण, सरकारी विद्यालयमा बर्सेनि आउने नतिजाले प्रष्ट्याउँछ । शिक्षालयका शिक्षक, शिक्षिका, विद्यार्थीदेखि व्यवस्थापन समितिसम्म राजनीतिबाट अछुतो रहन सकेनन् । यसको ज्वलन्त उदाहरण, बाँसगढी बहुमुखी क्याम्पस सञ्चालक समितिको चुनावमा समेत देखिएको छ ।


यहाँ वैशाख १६ गते हुने सञ्चालक समितिको चुनावमा राजनीतिक आस्थावान् प्यानलअनुसार उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसविरुद्ध नेकपा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी चुनावी गठबन्धन बनाएका छन् । यससँगै स्वतन्त्ररुपमा एकजना अध्यक्ष र एकजना सदस्यले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस क्षेत्रीय सभापति सविनकुमार थापाको अध्यक्षतामा चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

उनी निवर्तमान र त्यसभन्दा अघिल्लो कार्यकाल गरी लगातार दुईपटक सञ्चालक समिति अध्यक्षसमेत हुन् । नेपाली कांग्रेसबाट नौजना खुला सदस्य र तीनजना महिला सदस्यका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा माओवादी नेतृत्वमा बनेको गठबन्धनबाट अध्यक्षसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भवनकुमार थारुले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसमा नौजना सदस्य नेकपा एमाले, तीनजना नेकपा माओवादी केन्द्र र दुईजना नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेबाट तीन, माओवादीबाट एकजना महिला सदस्यले उम्मेदवारी दिएका छन् ।
यता राजनीतिक दल प्रतिस्पर्धामा आइरहेका बेला विपीन पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्रबाट एकजना सदस्य पदमा पनि उम्मेदवारी परेको छ । उक्त क्याम्पस सञ्चालक समितिमा एकजना अध्यक्ष, नौजना सदस्य र तीनजना महिला सदस्य निर्वाचित हुने छन् । जसका लागि अध्यक्षमा तीनजनाको उम्मेदवारी दर्ता भएको निर्वाचन मण्डलका निर्वाचन संयोजक ईश्वरीप्रसाद रिजालले जनाए । उनका अनुसार नौजना खुला सदस्यमा २४ जना र तीनजना महिला सदस्यमा सातजना महिलाको उम्मेदवारी परेको छ ।

क्याम्पसमा राजनीति सामान्य भएको नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार थापाले बताए । ‘क्याम्पसमा राजनीति स्वभाविकै मानिन्छ,’ उनले भने, ‘विद्यार्थीको राजनीतिक उत्पत्तिको थलोसमेत क्याम्पस हो ।’ तर, शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने ढंगबाट राजनीति हुनुपर्ने उनको भनाइ छ । साथै उनले क्याम्पसलाई प्राविधिकतर्फ लिने बताएका छन् । ‘शिक्षालाई अझ गुणस्तरीय र सीपमूलक बनाउन प्राविधिक धारतर्फ जानुपर्छ,’ उनी भन्छन्, ‘यससँगै नजिकनजिकैको दुरीमा एउटै प्रकृतिका क्याम्पस छन् । म त्यसलाई मर्जको बाटोमा लिने छुँ । एउटालाई प्राज्ञिक र एउटाले पहिलाको जस्तै शिक्षा लिने थलोको रुपमा विकास गर्न आवश्यक छ ।’ क्याम्पसको पूर्वाधार निर्माणमा जोड दिने उनले बताए ।
शिक्षालयमा राजनीति देखिनु गलत भएको अध्यक्षका अर्का उम्मेदवार भवनकुमारले जनाए । ‘उम्मेदवारी दर्ताका क्रममा राजनीति देखियो,’ उनले भने, ‘उम्मेदवारी दर्ताभन्दा पहिला साझा ढंगले सबै एक भएर सहमतिमा जान खोजेका थियौं । तर, कुरा नमिल्दा राजनीति देखियो ।’ दलगत ढंगले भन्दा दलहरु एकीकृतरुपमा जाँदा शिक्षालयको शैक्षिक सुधार हुने उनको भनाइ छ । साथै उनले शैक्षिक सुधार र गुणात्मक शिक्षालाई जोड दिने बताए ।

गुणस्तरीय शिक्षा प्रदान नहुँदा सरकारी शिक्षालयमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गएको भन्दै उनी भन्छन्, ‘गुणस्तर शिक्षाको अभावका कारण सरकारी शिक्षालय खाली हुन थालिसके ।’
यससँगै क्याम्पसलाई प्राविधिक शिक्षातर्फ अग्रसर बनाउने उनको भनाइ छ । बाँसगढीमा भएका एकै प्रकृतिका क्याम्पसमा फकरफकर पढाइ हुने गरी विकास गर्ने उनले बताएका छन् । अर्काे विषयगत शिक्षालाई नियमित बनाउने उनले जोड दिए ।
ठूला भनिएका दलले एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्दाको परिणाम शिक्षालयमा पनि देखिएको स्वतन्त्ररुपमा अध्यक्ष पदका उम्मेदवार पौडेलले बताए । शिक्षालयलाई दलीयकरणबाट मुक्त राख्न उम्मेदवारी दिएको उनको भनाइ छ । सामुदायिक शिक्षालयको नतिजा खस्किँदै गएको र त्यसलाई सुधार गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । बाँसगढी बहुमुखी क्याम्पस चार सय ९४ जना मतदाता छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार