नेपालगन्ज, नेपालगन्ज फुल्टेक्रास्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा आइतबार तालाबन्दी गरिएको छ । अस्पतालमा सचेत नागरिक समाज बाँकेले तालाबन्दी गरेको हो ।
लामो समय विवादित रहेको अस्पतालविरुद्ध आवश्यक छानबिन गर्नुपर्ने मागमा अस्पताल व्यवस्थापन समिति र प्रशासनले सुनुवाइ नगर्दा तालाबन्दी गर्नुपरेको बन्दकर्ताले बताएका छन् । अस्पताल व्यवस्थापन समितिले मनोमानी गर्दै आएको भन्दै छानबिनको माग गरेर जिल्ला प्रशासन कार्यालयमा दुईवटा उजुरीसमेत परेका छन् । भारतबाट समेत सेवा लिन आउने ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र गलत व्यक्तिको पोल्टामा गएर विवादित हुन पुगेको नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्य समिति सदस्य तथा समाजसेवी अजिजकुमार शर्मा बताउँछन् ।

विशेषगरी संस्थाको सुरुवातदेखि प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुलाई व्यवस्थापन समितिले निलम्बन गरिएपछि विवाद चर्किएको हो । यसका साथै संस्थाको विधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, वार्षिकरुपमा साधारणसभा नगर्ने गरेको, नविकरणका लागि कागजीरुपमा साधारणसभा गर्ने गरिएको, स्थापनाकालदेखि हालसम्म एउटै कार्यसमिति रहेकोलगायतका आरोप पनि व्यवस्थापन समितिमाथि लाग्दै आएको छ ।
ब्रिनोज बेलायती डा. निल बेयरले बेलायतमा रहेको आफ्नो घर बेचेर करिब ६ करोडको लागतमा स्थापना गरेको अस्पताल हो । ब्रिटेन नेपाल अटोलोजी सर्भिस नामको संस्थामार्फत सन् २०१६ देखि सञ्चालनमा आएको केन्द्रमा पश्चिम नेपालका दुई दर्जन जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रका मानिसहरु पनि उपचारका लागि आउने गरेका छन् । केन्द्रले कान रोगको उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिनेदेखि बाँके, बर्दिया र सुर्खेतमा पनि कान स्वास्थ्यका शिविर राखेर उपचार गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्