बाँके ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले तस्करहरुसँग ‘डिनर’ गरे आफूलाई कालोमोसो दल्न आग्रह गरेका छन् । राजश्व छली गर्ने तस्करहरु तथा व्यापारीसँग प्राइभेट कारमा ढकेरीतिर नजाने भन्दै उनले त्यसो गरे आफूलाई कालोमोसो दल्न आग्रह गरे ।
कोहलपुर क्षेत्रका पत्रकारहरुसँग बिहीबार कार्यालयमै अन्तरक्रिया गर्दै डिएसपीले तिवारीले कानुनविपरीत काम गर्नेलाई आफूले संरक्षण नगर्ने दाबी गरेका छन् । पत्रकारहरुसँग मात्र नभएर आफू आफ्नै कार्यालयका सिपाहीहरुबाट समेत निगरानीमा रहेको बताए ।
‘मेरा सिपाहीहरुबाट निगरानीमा छुँ । मैले सिपाहीहरुलाई भनेको छुँ, जुन कानुन तिमीहरुलाई लाग्छ मलाई त्यही कानुन लाग्छ,’ उनले भने, ‘यदी मैले मादक पदार्थ सेवन गरेर आए भने मेरो कुर्सीमै थुकिदेउ मलाई कालोमोसो दलिदेउ भन्या छु मैले ।’ आफूले सिपाहीहरुलाई समेत तस्करहरुको प्राइभेट कारमा ढकेरीतिर गए कालोमोसो लगाइदेउ भनेको डिएसपी तिवारीले दाबी गरे ।
‘म एक दिन पनि तिनै तस्कर, व्यापारीहरुसँग जसले राजश्व चोरी गर्छ तिनीहरुसँग एक दिन पनि बसेर प्राइभेट कारमा ढकेरीतिर गए भने कालोमोसो लगाइदेउ भनेर मेरै सिपाहीहरुलाई भनेको छुँ,’ उनी भन्छन्, ‘हजुरहरु पनि लाइदिनु भए हुन्छ ।’ तीन सय ६५ दिनमा आफू कुनै दिन पनि प्राइभेट कार चढेर डिनर गर्न गएको देखे त्यहीनेर नै कालोमोसो लगाइ दिन सबैलाई उनले आग्रह गरे ।
कसैको आर्थिक प्रलोभनमा परेर कानुनविपरीतका गतिविधि गरेको पाइएमा ती प्रहरीलाई कारबाही गरिने बताए । ‘कानुनविपरीत आर्थिक प्रलोभनमा परेर काम गर्ने प्रहरी अधिकारीहरु कारबाहीको दायरामा आउँछन् । त्यस्ता गतिविधि सह्य हुँदैन, म आएपछि मात्रै दुईजनालाई कारबाही गरिसकिएको छ,’ उनले भने ।
प्राकृतिक दोहन गर्नेप्रति कोहलपुर प्रहरी चुप लागेर बस्न नसक्ने डिएसपी तिवारीले चेतावनी दिए । ‘कतिपय चोरहरु त यस्ता छन्, सरकारी सम्पत्ती नै मेरो हो भन्छन् । यिनीहरुलाई ठीक पार्नुपर्छ,’ उनले भने, ‘प्राकृतिक स्रोत दोहन गर्ने अवैध उत्खनन गर्नेप्रति प्रहरी चुप लागेर बस्दैन ।’
कोहलपुर प्रहरीले सुरक्षित कोहलपुर अभियान सञ्चालन गरेको जानकारी दिँदै डिएसपी तिवारीले सबैलाई साथ दिन आग्रह गरे । एक महिनाअघि मात्र कोहलपुर प्रहरीको नेतृत्व सम्हालेका डिएसपी तिवारीले महŒवाकांक्षी कार्ययोजना बनाएर काम गरिरहेका छन्








प्रतिक्रिया दिनुहोस्