स्ववियु निर्वाचन : बाँकेमा कहाँ कति उम्मेदवारी ?



नेपालगन्ज,चैत्र ५ गते तोकिएको स्ववियु निर्वाचन बाँकेमा महेन्द्र बहुमुखी क्याम्पससहित पाँचवटा क्याम्पसमा हुने कार्यक्रम छ । महेन्द्र बहुमुखी क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुन पाएन । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा २५ गते नै उम्मेदवारी दर्ता भइसकेको छ ।

जसमा अध्यक्षमा चार जनासहित २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । बागेश्वरीमा अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र अनेरास्ववियु (छैठौं)बाट उम्मेदवारी परेको छ ।

यसैगरी खजुरास्थित ज्ञानोदय पब्लिक क्याम्पसमा पनि तीनवटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् । नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा तीनजना, सचिवमा तीनजना, कोषध्यक्ष तीनजना र सदस्यमा नौ जना गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जनसिद्धेश्वर मावि राप्तीसोनारीमा ३० जनाको उम्मेदवारी परेको छ । सिद्धेश्वरमा अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । त्यहाँ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन एवं नेविसँघ, नागरिक विद्यार्थी, समाजवादी विद्यार्थी संगठनको संयुक्त समावेशी प्यानलले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन कार्यक्रमअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय छुट्याइएको छ । स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार