नेपालगन्जका उपमेयर राईविरुद्ध पक्राउ पुर्जी जारी



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईविरुद्ध बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सार्वजनिक न्यायविरुद्धको कसुरमा दायर भएको जाहेरीमाथि अनुसन्धान गर्न राईविरुद्ध गत माघ १८ मा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पूर्वमन्त्रीसमेत रहेका सर्वदेवप्रसाद ओझाले सार्वजनिक न्यायविरुद्धको कसुरमा जाहेरी दिएकोमा अदालतले राईलाई पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी गरेको ३६ दिन भइसक्दा पनि प्रहरीले उनलाई पक्राउ भने गरेको छैन । बाँके प्रहरी पक्राउ पुर्जीपछि उक्त विषयमा अनुसन्धानको क्रममै रहेको बताउँछ ।

ओझाकी श्रीमतिको नाममा सञ्चालित एक फर्मको भन्सार क्लियरिङ एजेन्ट रहेको बेला सामानहरुमा ठगी भएको भन्दै अदालतमा दायर मुद्दाको बयानका क्रममा बुझाएका विवरणहरुमा राईले व्यक्तिगत विवरण फरक पारेर झुक्याएको विषयमा प्रहरीमा उजुरी लिएर गएको र प्रहरीले उजुरी नलिएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएको ओझाले बताए ।

ओझाले दिएको जाहेरीमा २०७९ पुस २ गते प्रहरीमा जाहेरी लिएर जाँदा जाहेरी दर्ता नगरेपछि २०७९ माघ ४ गते सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दिएको उल्लेख छ ।

उक्त जाहेरीमा २०६२ सालदेखि २०६९ सालसम्म बीउको आयात निर्यातको कारोबार गर्ने मनीषा एग्री कन्सर्न नेपालगन्जका भन्सार क्लियरिङ एजेन्ट रहेका राईले २०६७ सालपछि मिली ठगी गरेको विषयमा अदालतमा मुद्दा परेको उल्लेख छ । यस विषयमा २०७३ सालमा जिल्ला अदालतमा मुद्दा परेको र उक्त मुद्दा अहिले सर्वाेच्च अदालतमा समेत विचाराधीन रहेको अवस्थामा राईले कम्पनीमा काम गर्दा सत्यतथ्य विवरण भनेर बुझाएको भन्दा अदालतमा बाबुको नाम र वडा नम्बर फरक पारी झुक्याइरहेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा राईले भारतबाट पैठारी गर्ने मनीषा एग्री बायो टेक कम्पनी प्रालिको कागजातमा बाबुको नाम अकबर अली उल्लेख गरेको र अदालतको लिखित वयानमा बाबुको नाम गोबरे कवडिया बताएको उल्लेख छ । यसैगरी ठेगाना नेपालगन्ज वडा नम्बर १५ हुनुपर्नेमा नेपालगन्ज–२० भनेर उल्लेख गरेर अदालतलाई पनि झुक्याएको ओझा बताउँछन् ।

जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ४ को ९२(३) र ९३ अनुसारको कसुर गरेको दाबी गरिएको छ । यस विषयमा जिल्ला अदालतले माघ १८ गते राईलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अधिकार दिएको हो । विभिन्न कागजातहरु देखाउँदै ओझाले कमरुद्दीनलगायत अरु तीनजना मिलेर कम्तिमा एक करोड १३ लाख बढीको सामान ठगी गरेको बताए । कम्पनीका लागि काम गर्ने राईसमेत तीनजनाले पैसा बुझेर लिने तर सामान उपलब्ध नगराई र भारतबाट मगाइएको सामानलाई गायब पारेर कम्पनीले नपठाइदिएको भन्दै ठगी गरेका ओझाले आरोप लगाए ।

अदालतले पक्राउ पुर्जी जारी गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि प्रहरीले पक्राउ नगरी आलटाल मात्रै गरिरहेको भन्दै ओझाले असन्तुष्टि पोखे । बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगर उक्त विषयमा आफूहरु अझै अनुसन्धानमै रहेको बताउँछन् । उपप्रमुख कमरुद्दीनले भने आफूमाथि ओझाले रीसइबी साँध्न खोजेको आरोप लगाए ।

शुक्रबार उपमहानगरपालिकाको उपमेयरको कार्यकक्षमै भेटिएका राईले कुनैबेला आफू र ओझा एकै पार्टीमा रहेको र पछि अलग भएपछि भएको मनमुटावका कारण ओझाले दुःख दिने नियतले मुद्दा मामिला गरिरहेको बताए । उनले आफूले कतै पनि बाबुको नाम र ठेगाना फरक नराखेको दाबी गर्दै जाहेरीमै गलत लेखिएको र जिल्ला अदालतले आफूलाई सफाइ दिएको बताए । उनले आफ्नो पहिलेको ठेगाना वडा नम्बर २० नै भएको बताए ।

उनको नागरिकतामा भने साविकको पिप्रहवा ३ उल्लेख छ । जुन अहिलेको वडा नम्बर १५ मा पर्छ । उनको हालको बसोबास पनि वडा नम्बर १५ मै छ । वडा नम्बर १५ ले २०७९ मंसीर ६ गते गोबरे कवडिया र अकबर अली नाम गरेका व्यक्ति एकै भएको र मनिषा एग्री कन्सर्नमा काम गर्ने तीनैका छोरा कमरुद्दीन राई नै भएको भन्दै सिफारिस प्रमाणित गरेको छ ।

राईले आफूलाई बदनाम गराउन ओझाले षड्यन्त्र गरिरहेको दोहो¥याउँदै भने, ‘उहाँले पहिले जिल्ला अदालतमा पनि मुद्दा दायर गर्नुभएको थियो । अदालतले मेरो पक्षमा फैसला ग¥यो । अहिले त्यही गठी मुद्दा लिएर उहाँ सर्वाेच्चमा जानुभएको छ । म उताको तारेख बुझिरहेको छुँ । अहिले फेरि यो बाबुको नाम र ठेगानाको हुँदै नभएको मुद्दा उठाउनुभएको छ । मात्र दुःख दिने नियत हो उहाँको ।’

यद्दपि राईले प्रहरीले अघि बढाउने अनुसन्धानको कामलाई सघाउने बताए । ‘मकहाँ यसबारेमा आधिकारिक जानकारी भने आइपुगेको छैन । बोलाएको बेला म उपस्थित भएर आवश्यक सहयोग गर्न तयार छु,’ राईले भने । उपप्रमुख राई अहिले जनता समाजवादी पार्टी बाँकेको अध्यक्षसमेत छन् । उनी स्थानीय निर्वाचनमा जसपाकै तर्फबाट नेपालगन्जको उपमेयरमा निर्वाचित भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २७ गते शनिबार