पर्यटन कार्यालय बाँकेका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा



नेपालगन्ज,
पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दिपकबहादुर बुढाथोकी, सवइन्जिनियर ललनकुमार मण्डल, खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सवइन्जिनियर दिपेश महतारासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । मुद्दा दायर भएकाहरुमा खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत, सचिव विरबहादुर बुढा र खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीसमेत छन् । अख्यितारले फागुन ८ गते मुद्दा दर्ता गरेको हो ।

बाजुराको काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
अख्यितारले अनुसन्धानपश्चात पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक बुढाथोकी, तत्कालीन सवइन्जिनियर मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सवइन्जिनियर महताराले योजनाको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको पाइएको छ । यसका साथै निर्धारित शर्त तथा मापदण्डविपरीत भएको निर्माणलाई शर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरेको पाइएको छ । उक्त प्रकरणमा अख्तियारले एक लाख ५५ हजार पाँच सय ५३ रुपैयाँ बिगो र कैद सजाय माग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन ११ गते बिहीबार