श्रीमान्द्वारा पेट्रोल छर्किएर शरीरमा आगो लगाइएकी गंगाको स्वास्थ्यमा सुधार हुँदै



कोहलपुर, २३ माघ
आफ्नै श्रीमान्द्वारा पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएकी कोहलपुर–२ शक्तिनगरकी गंगा विकको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । पेट्रोलका कारण शरीरको २० प्रतिशत भाग जलेकी गंगाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । गंगाका जेठाजु सिर्जन विकका अनुसार गंगाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।
गंगाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अहिले राम्रोसँग बोल्न सक्ने अवस्थामा पुगेको उनले बताए ।

काठमाडौं ल्याएपछि क्रमिकरुपमा बुहारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको सिर्जन बताउँछन् । माघ १५ गते साँझ कोहलपुर–२ शक्तिनगरका भानुभक्त विकले आफ्नै छोरा र श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । लगत्तै २ वर्षीय छोरा प्रिन्स र गंगालाई उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि दुवैजनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा लगियो । पेट्रोलका कारण कम्मरभन्दा माथिको शरीर पूर्णरुपमा जलेका प्रिन्सको उपचारको क्रममा १६ गते बिहान निधन भएको थियो ।

गंगालाई भने नेपालगन्जमा उपचार सम्भव नभएपछि माघ १७ गते स्थानीय सरकार, स्थानीय प्रशासन, अस्पताल, सुरक्षा निकाय र महिला अधिकारवादी संस्थाको समन्वयमा थप उपचारका लागि काठमाडौं लगिएको थियो । ‘बुहारीको स्वास्थ्य अवस्था धेरै सुधार भएको छ । मासु र अण्डा बढी खानु भनेको छ । उपचारका लागि धेरै ठाउँबाट सहयोग पनि प्राप्त भइरहेको छ । सञ्चो हुनेमा ढुक्क छौँ,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार