कोहलपुर : पुर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको चौराहा सडक खण्ड बन्द गरिएको छ । शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा कोहलपुर –११ का जय प्रकाश घर्तीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै पीडित पक्षले कोहलपुर चौराहा बन्द गराएका हुन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब पौने ९ बजे घर्ती सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । पश्चिमतर्फ जाँदै गरेको रा१क १३५६ नम्बरको ट्रकले भे ७ प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घर्तीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि ईलाका प्रहरी कार्यालयमा पीडित र पिडक पक्षबिच आइतबार वार्ता भएपनि वार्ता सफल नभएपछि मृतकका आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले अहिले कोहलपुर चौराहमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । जसका कारण लामो तथा छोटो दुरीका सवारी साधन बाटोमै रोकिएका थिए । स्कुटरलाई ठक्कर दिने ट्रक चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ३३ वर्षीय लालबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले दुवै पक्षबीच आइतबार छलफल भएको थियो । उनका अनुसार पीडित पक्षले ५० लाख रुपैयाँ काम गरेको छ । मल्लले मृतकका आफन्तहरुले घर्तीका छोराछोरीहरुको पालनपोषण र शिक्षादिक्षाका लागि प्रति बच्चा २५ लाखका दरले रकम जम्मा हुनुपर्ने माग राखेका छन् । तर पीडक पक्षले त्यति ठूलो रकम दिन नसकिने बताएको छ । पीडक पक्षले माग अनुसारको क्षतिपूर्ति दिन तयार नभएपछि मृतकका आफन्तहरुले चौराहा बन्द गराएका हुन् ।









प्रतिक्रिया दिनुहोस्