कोहलपुर, १९ माघ : कोहलपुरका एक पुरुषले जुम्लामा आत्मदाहको प्रयास गरेका छन् । आफूलाई कोहलपुर नगरपालिका वडा नम्बर ११ का बासिन्दा बताउने ४० वर्षीय गोकर्ण कार्कीले बिहीबार आत्मदाहको प्रयास गरेका हुन् ।
कार्कीले बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । उनले ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै आत्मदाहको प्रयास गरेका हुन् । कार्यालय अगाडि उनले पेट्रोलमा लाइटरले आगो छर्किएर आफूलाई जलाउने प्रयास गरेका थिए । तर उनलाई प्रहरीले आत्मदाह भने गर्न दिइएन । प्रहरीले नियन्त्रणमा लिने क्रममा उनले भनेका छन्, ‘रविलाई न्याय देउ । यो देशले मलाई बाँच्दै दिएन । यहाँ बस्नै मन लागेन ।’

कोहलपुर घर भएको बताउने उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । कार्की त्यहाँका सवारी चालक हुन् । कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन् । उनी जिल्ला अस्पताल हुँदादेखि नै त्यहाँ काम गर्दै आएका छन् । ‘यो देशमा जताततै भ्रष्टाचार छ । अनियमितता छ । को छन् र गतिला,’ कार्कीले भने, ‘रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु ।’ उनी सपरिवार जुम्ला बस्दै आएका छन् । उनका श्रीमती र एक छोरा छन् । कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्