प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता (चाचाजी)को स्मृतिमा विविध कार्यक्रम



नेपालगन्ज, १५ माघ
प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त चाचाजीको तेस्रो स्मृती दिवसमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाल प्रेस युनियन बाँके, नेपाल पत्रकार महासंघ र पन्नालाल गुप्त स्मृती प्रतिष्ठानले छुट्टाछुट्टै कार्यक्रम गरेर आइतबार स्वर्गीय गुप्तालाई स्मरण गरेका हुन् ।
आफ्ना संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय गुप्ताको स्मतिमा प्रेस युनियन बाँकेले आइतबार बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको थियो । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताले स्वर्गीय गुप्ताले पत्रकारिता, लोकतन्त्र र समाजसेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।


अध्यक्ष ओलीले संस्थापक अध्यक्ष गुप्ताको सम्मान स्वरुप युनियन बाँकेले जिवित रहँदा नागरिक अभिनन्दन, जन्मोत्सव, पुरस्कार कोष स्थापना जस्ता काम गरेको र निधन पश्चात उनको नाममा सडक र चोक नामाकरण गराउनका लागि आवश्यक पहल कदमी गर्दै आएको बताए ।

यस्तै पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्षसमेत रहेका स्वर्गीय गुप्ताको स्मृतीमा पत्रकार महासंघ बाँके शाखाले पनि आफ्नो कार्यालय श्रद्धाञ्जली कार्यक्रम गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टरका केन्द्रिय सचिव सिराज खान, पत्रकार महासंघ बाँकेका सल्लाहकार डक्टप्रसाद धिताल, स्वर्गीय गुप्ताका सुपुत्र एवम् पुर्वमेयर विजय गुप्ता र पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले योगदानबारे चर्चा गरेका थिए ।

यसैगरी तेस्रो स्मृती दिवसका अवसरमा पन्नालाल गुप्त स्मृती प्रतिष्ठान नेपालगन्जको आयोजनामा स्थानीय मानव सेवा आश्रममा भोजन गराइएको छ । प्रतिष्ठानले स्मृती दिवसको अवसर पारेर उक्त आश्रममा बसोबास गर्ने व्यक्तिलाई खाना खुवाएको प्रतिष्ठानका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार