मिसन संवाददाता
कोहलपुर, १४ माघ
कोहलपु–११ न्यूरोडस्थित मैदानमा खुल्ला मञ्च निर्माण गर्दा सिर्जना भएको अवरोध हटेको छ । नगर विकास समिति र डिभिजन वन कार्यालयबीच सहमति जुटेपछि खुल्ला मञ्च निर्माणमा भएको अवरोध तत्कालका लागि घटेको हो ।
माघ १० गते नगर विकास समितिले निर्माण कार्य सुरु गर्न खोज्दा डिभिजन वन कार्यालयले अवरोध सिर्जना गरेको थियो । तर नगर विकास समितिका सदस्य सचिव टीकाराम ढकालका अनुसार वन कार्यालयसँग समन्वय गरेर निर्माणमा अवरोध सिर्जना नगर्ने सहमति भएको छ । नगर विकास समितिले ठेक्का प्रक्रियामार्फत खुल्ला मञ्च निर्माण गर्न लागेको छ । वन डिभिजन कार्यालयले लामो समयदेखि भोगचलन गर्दै आएका कारण सुरुमा निर्माण कार्यमा अवरोध सिर्जना गरेको थियो ।
पछि सरकारी कागजात सबै नगर विकास समितिको नाममा भएका कारण दुई पक्षबीच निर्माण कार्य अघि बढाउने सहमति भएको नगर विकास समितिका सदस्य सचिव ढकालले बताए । मञ्च निर्माणका लागि नगर विकास समितिले ठेक्का आह्वान गरेर सम्झौतासमेत भइसकेको छ । खुल्ला मञ्च निर्माण गर्ने जग्गामा वन कार्यालयले अवरोध गरे पनि सम्झौता नभएको दुई महिनासम्म पनि काम सुरु हुन सकेको थिएन । मञ्च निर्माणका लागि गत मंसीर ११ गते नगर विकास समिति र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो ।
नगर विकास समितिका अनुसार मञ्च निर्माणका लागि गत भदौ महिनामा ठेक्का आह्वान गरिएको थियो । ९९ लाख रुपैयाँ मञ्च निर्माण हुनेछ । ठेक्का प्रक्रियामार्फत मञ्च निर्माण जिम्मा सुप्रिम निर्माण सेवा वीरेन्द्रनगर ११, सुर्खेतले पाएको छ । निर्माण कम्पनीका साइड इन्चार्ज चन्द्रप्रकाश खड्काले दुई पक्षीय सहमतिपछि काम सुरु भएको बताए । उनका अनुसार अब निरन्तर मञ्च निर्माणको काम सुरु हुन्छ । असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।