लुम्बिनी प्रदेशः भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ



बाँके ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिल्दा ढिलाइ भइरहेको हो । गत पुस २७ गते शपथ लिएका मुख्यमन्त्री गिरीले माघ ५ गते संसद्मा विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री गिरीले विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तारमा भने ढिलाइ गरिरहेका छन् । गठबन्धन दलहरुबीच भागबण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री नियुक्त भएसँगै पुस २८ गतेबाट कार्यभार सम्हालेका गिरीले विश्वासको मत लिनु र दुईजनालाई बिना विभागीयमन्त्री बनाउनुबाहेक अन्य प्रगति गर्न सकेका छैनन् ।

प्रदेश सरकारका प्रवक्ता तथा बिना विभागीयमन्त्री चेतनारायण आचार्यले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे । गठबन्धनमा रहेका दलहरुबीच भागबण्डाका बिषयमा कुराकानी भइरहेको बताउँदै उनले सहमति हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरे ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि यही बीचमा नेकपा माओवादी केन्द्र लुम्बिनीका संसदीय दलका नेता जोखबहादुर महराकी आमा रमिता महराको निधन भएपछि छलफल थप प्रभावित भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश दलका नेता महरा आफैँ मन्त्री बन्ने तयारीमा छन् ।

मुख्यमन्त्री गिरीसँगै उनले शपथ लिने भनिए पनि रोजेको मन्त्रालय नपाएपछि मन्त्री बनेका थिएनन् । मुख्यमन्त्रीसँग एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी (नमुना)ले मन्त्रीको शपथ लिएका थिए । बिना विभागीयमन्त्रीहरू अहिले प्रदेश राजधानी दाङमा व्यवस्थापकीय कामका साथै गृह जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन् ।

अनौपचारिक छलफलमा मुख्यमन्त्रीसहित एमालेले चार, माओवादीले तीन, जनमत पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीले एक/एक मन्त्रालय पाउने सहमति गरिएको छ । तर कुन मन्त्रालय कसलाई दिने भन्ने अझै स्पष्ट छलफल भएको छैन ।

लुम्बिनीमा एमालेबाट भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी र विष्णु पन्थीमन्त्रीको मुख्य दाबेदार छन् । यस्तै माओवादीबाट इन्द्रजित थारु, दीपेन्द्र पुनले दाबेदारी प्रस्तुत गरेका छन् । पुन स्वतन्त्र उम्मेदवार बनेर रोल्पाबाट चुनाव जितेपछि माओवादीमा प्रवेश गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ९ गते सोमबार