टर्कबहादुर खत्री
प्रधानाध्यापक
बाल शिक्षा मावि भरैया, कोहलपुर–१३ बाँके
माघी महोत्सवका विषयमा जानकारी गराइदिुनुहोस् न ?
माघी नेपाली हिन्दु धर्मावलम्बी र विशेष गरी थारु समुदायको महŒवपूर्ण पर्व हो । यो एक सांस्कृतिक पर्वका रुपमा छ । विद्यालयले यो पहिलोपटक आयोजना गर्दैछ । यसको पूर्वतयारीमा हामी जुटेका छौं । नगरपालिकाको सीमान्त विद्यालयका रुपमा रहेको हाम्रो विद्यालय, यहाँका शैक्षिक गतिविधि तथा विद्यालयका क्रियाकलापको प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागेका छौं ।
महोत्सव आयोजना गर्ने खबरसँगै यसले व्यापकता पाएको छ । यसमा हामी साह्रै खुसी छौं । स्थानीय सरकारले समेत माघी महोत्सवलाई सफल गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै आज सर्वपक्षीय बैठक राखेर थप छलफल गर्दैछौं । महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि हामी लागिपरेका छौं ।
यतिमात्रै होइन भरैया क्षेत्रको प्राकृतिक सुन्दरतालाई समेत हामीले चिनाउने कोसिस गरेका छौं । महोत्सव भव्य हुनेमा विश्वस्त छौं । यतिमात्रै होइन हाम्रो विद्यालयमा विभिन्न कार्यक्रम छन् । ती कार्यक्रम पूर्तिका लागि हामीलाई आर्थिक आवश्यकता पर्ने गर्दछ । त्यसका लागि पनि महोत्सव आयोजना गर्न लागिएको हो । विद्यालयको पाँच बर्से रणनीति सफल पार्नको लागि हामीले गर्ने क्रियाकलापअन्तर्गत महोत्सव हुन लागेको हो ।
महोत्सवका मुख्य आकर्षक के–के हुन् ?
यो महोत्सव बहुआयिमक हुनेछ । यसमा थुप्रै कुरा समावेश हुने छन् । यसमा उत्पादन समावेश हुनेछ । यहाँका रैथाने चीजहरुको प्रदर्शनी हुनेछ । विभिन्न प्रतियोगिता हुनेछन् ।
थारु सांस्कृतिक प्रस्तुतिदेखि लाइभ दोहोरीसमेत हुनेछ । मुख्य गरी महोत्सवका मुख्य आठवटा आकर्षण छन् । कर्णाली दोहोरी घरको लाइभ दोहोरी, स्थानीय कला संस्कृति बचाउन सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । नगरस्तरीय फुटबलप्रेमीहरुका लागि फुटबल प्रतियोगितता र खुला थारु नाच प्रतियोगिता सञ्चालन गरिनेछ ।
विद्यार्थीहरुको शैक्षिक अवस्था सुधारका लागि रचनात्मक कार्यक्रमका रुपमा पढाइ मेला हुनेछ । यसमा कक्षा १–८ सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु प्रत्यक्षरुपमा सहभागी हुनेछन् । पछिल्लो पुस्ताको मुख्य आकर्षणका रुपमा रहेको टिकटकको माध्यमबाट हामीले जनचेतना फैलाउने प्रयास गरेका छौं । ज्ञानमूलक शिक्षासम्बन्धी टिकटक बनाउने प्रतियोगिता सञ्चालन हुनेछ ।
यस्तै बालबालिकाहरुको सक्रियतामा स्थानीय परिकारको तयारी तथा बिक्रीवितण हुनेछ । विशेष प्रस्तुतिका रुपमा सल्यानी टप्पा नाच प्रदर्शन गरिनेछ । यसमा विद्यार्थीहरुको अर्थपूर्ण सहभागितालाई जोड दिइनेछ । विद्यार्थीहरु नै मुख्यरुपमा सहभागी हुनेछन् । त्यसैले महोसत्वमा प्रभावकारीरुपमा अघि बढाउनेछौं ।
माघी महोत्सव आयोजनाको मुख्य उद्देश्य के हो ?
माघी महोत्सव सञ्चालन गर्नुको मुख्य उद्देश्य कला, संस्कृति संरक्षण, विद्यार्थीहरुको सीप र कलाको प्रदर्शन र यसैसँग जोडिएको आर्थिक उपार्जन गर्ने उद्देश्य हो । किन भने हाम्रो विद्यालय धेरै आवश्यकता र थोरै आर्थिक हैसियत र पूर्वाधार तथा जनशक्ति सीमित भएको विद्यालय हो । हामीलाई स्थानीय सरकारले समेत अपेक्षाकृतरुपमा सहयोग गरेको छैन ।
महोत्सवका माध्यमबाट विद्यालयलाई केही राहत मिल्छ की भन्ने हाम्रो आशा छ । हामी जति सक्छौं । त्यो हाम्रो लागि धेरै नै हुनेछ । यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने पनि छ । हामीले महोत्सवको माध्यमबाट स्थानीय सरकारलाई ध्यानाकर्षण समेत गराउन खोजेका छौं । हामी विद्यालय विकासका लागि तयार छौं । तपाईंहरु पनि तयार हुनुपर्छ भन्ने सन्देश दिने पनि हाम्रो ध्यय छ । यो विद्यालयलाई थप शसक्त बनाउने पनि उद्देश्य छ । यस्ता कार्यक्रम बर्सेनि हुनेछ ।
महोत्सव आयोजना र सम्पन्न गर्नका लागि स्थानीय सरकारको सहयोग छ की छैन ?
यो बाल शिक्षा मावि विद्यालयले आयोजना गरेको महोत्सव हो । हामीले यसको औपचारिक घोषणा गरिसकेपछि धेरै ठाउँबाट पनि राम्रो प्रतिक्रिया आइरहेको छ । महोत्सवका विषयमा अहिले स्थानीय सरकारले समेत चासो देखाएको छ ।
यसलाई मैले निकै सकारात्मकरुपमा लिएको छुँ । मलाई कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजकज्युले फोन गरेरै सहयोग गर्ने कुरा गर्नु भएको छ । त्यसैले आज विद्यालयमा हामी जनप्रतिनिधिसहित सर्वपक्षीय बैठक बस्दैछौं । सबै क्षेत्रबाट राम्रो प्रतिक्रिया आएको छ । बैठकले थप निर्णय गर्नेछ ।
विद्यालयअन्तर्गत क्षेत्र रहेका समुदाय र अभिभावकबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
कुनै पनि विद्यालय सञ्चालनका लागि तीनवटा पक्षको भूमिका महŒवपूर्ण हुन्छ । ती हुन्, शिक्षक, विद्यार्थी र अभिभावक । हामी शिक्षक विद्यार्थीहरु त माघीको पूर्वतयारीमा लागिसकेका छौँ । जहाँसम्म अभिभावकहरुको कुरा छ । उहाँहरुको हामीलाई महŒवपूर्ण सहयोगको खाँचो छ । त्यसका लागि आज बस्ने बैठकबाट उहाँहरुलाई थप आग्रह गर्नेछौं । विद्यालय व्यवस्थापन समितिसमेत नयाँ निर्माण गरिएको छ । नयाँ नेतृत्व आएको छ । उहाँहरु पनि हामी महोत्सव सञ्चालन तथा सम्पन्न गर्न सक्रिय हुन्छौं भनिरहनु भएको छ ।
त्यसैले अभिभावकहरुको महŒवपूर्ण सहयोग र सहभागिता हुनेछ भन्नेमा हामी विश्वस्त छौं । यो महोत्सव उहाँहरुको पनि हो । उहाँहरुको छोराछोरीहरुको भविष्यका लागि आयोजना गरिएको हो । यस्तै उहाँहरुले गाउँमै आफ्नो परिश्रमले उत्पादन गरेका वस्तुहरु प्रदर्शनमा राख्न पाउनु हुनेछ । बालबालिकाहरुका समस्या समाधानका लागि गरिएको यो महोत्सव सम्पूर्ण क्षेत्रको हो ।
अन्त्यमा सम्पूर्ण वडा, नगर र जिल्लावासीहरुलाई महोत्सवमा सहभागिताका लागि के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण वडा, नगर तथा जिल्लावासीहरुलाई महोत्सव अवलोकनका लागि आउन म आदर आमन्त्रण गर्न चाहन्छुँ । तपाईंहरुको सहभागिता हाम्रो लागि अनिवार्य छ । सानासाना बालबालिकाहरुको भविष्य निर्माणमा हजुरहरुको भूमिका महŒवपूर्ण हुनेछ ।
यस्तै विद्यालय क्षेत्रका सम्पूर्ण अभिभावकहरुलाई हार्दिक आमन्त्रण गर्न चाहन्छुँ । यस्तै सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायीहरुलाई पनि महोत्सवमा सहभागिताका लागि अनुरोध गर्न चाहन्छुँ ।
प्रस्तुतिः शुभाकर विश्वकर्मा









प्रतिक्रिया दिनुहोस्