बाल शिक्षा मावि भरैयामा माघी महोत्सव हुने



कोहलपुर ।

बाल शिक्षा माध्यमिक विद्यालय कोहलपुर नगरपालिका–१३, भरैयाको आयोजनामा माघी महोत्सव २०७९ हुने भएको छ । यही माघ १ गते विद्यालयको आयोजनामा विभिन्न सांस्कृतिक प्रस्तुति, प्रतियोगितात्मक कार्यक्रम तथा रचनात्मक कार्यक्रम गर्दै माघी महोत्सव आयोजना गरिने भएको हो ।

विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीका अनुसार आधा दर्जन बढी उद्देश्य राखेर बृहतरुपमा माघी महोत्सव मनाउन लागिएको हो । उनले स्थानीय उत्पादनको जानकारी र विद्यालयमा जारी रहेको पढ्दै कमाउँदै कार्यक्रमको थप प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

कला संस्कृतिको संरक्षण, जनचेतना फैलाउने, विद्यार्थीहरुलाई सीपमूलक कार्यमा लाग्न अभिप्रेरित गर्ने र उत्पादनको बजारीकरणका लागि पनि महोत्सव आयोजना गर्न लागेको उनको भनाइ छ । प्रधानाध्यापक खत्रीले थप आयआर्जनका उपाय खोज्ने तथा हरेक वर्ष माघी महोत्सव मनाउने ध्यायले पनि विद्यालयले माघी महोत्सवको आयोजना गरेको बताए ।

‘विद्यालयले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो,’ उनले भने, ‘यसको तयारी भइरहेको छ । महोत्सवलाई बहुआयमिक बनाउने हाम्रो उद्देश्य छ ।’ माघी महोत्सव २०७९ का सातवटा मुख्य आकर्षण रहेका छन् ।

महोत्सवको अवसरमा कर्णाली संगीत समाजको लाइभ दोहोरी र स्थानीय कला संस्कृति बचाउन सांस्कृतिक झाँकी प्रदर्शन हुने भएको छ । फुटबलप्रेमीहरुका लागि फुटबल प्रतियोगिता र खुला थारु नाच प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।

कक्षा १–८ सामुदायिक विद्यालयहरुको लागि पढाइ मेला र ज्ञानमूलक शिक्षासम्बन्धी टिकटक बनाउने प्रतियोगिता पनि आयोजना हुने प्रधानाध्यापक खत्रीले बताए । यस्तै बालबालिकाहरुको सक्रियतामा स्थानीय परिकारको तयारी तथा बिक्रीवितण र सल्यानी टप्पा नाच प्रदर्शन गरिने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार