साइकलमा चिया र कफी बेच्ने युवा



गुजरातमा उनी काम गर्ने होटलले प्रचार–प्रसारका लागि साइकलमा चिया कफी बेच्थ्यो । विभिन्न कम्पनीहरुले पनि त्यसरी नै व्यवसाय गरिरहेको उनले थाहा पाए । उनलाई लाग्यो, ‘यस्तो काम त म आफ्नो देशमा पनि गर्न सक्छु । यहाँ काम गर्नु भन्दा आफ्नो ठाउँमा सजिलै गर्न सकिन्छ ।’

शुभाकर विश्वकर्मा । कोहलपुर ।

‘ल आयो है…तातो चिया–कफी’ लेखिएको पोस्टर । अर्कातिर चन्द्र र सुर्य अंकित नेपाली झण्डा छ । रातो झोलामा थर्मस दायाँ–बायाँ पट्टी प्लाष्टिकका गिलास । अगाडी पट्टी कफीको धुलो राख्ने सानो झोला । साइकलमा हरेक दिन विहान र साँझ चिया र कफी बेच्दै घरदैलो चहार्छन्, कोहलपुर–११ पिपलचौताराका दीपक आचार्य ।

झट्ट हेर्दा साइकल यात्री लाग्ने २६ वर्षीय आचार्य वास्तवमा चिया–कफीवाला हुन् । यसरी साइकलमा उनले चिया–कफी बेच्न थालेको तीन महिना भयो । उनी हरेक दिन विहान र साँझको समयमा उनले साइकलमा चिया–कफी बेच्दै आएका छन् । उनले कसरी यस्तो व्यवसाय थाले त ? सबैलाई लाग्ने सहज उत्तर हो, रोजगारीका लागि । वास्तविकता भने अर्कै छ ।

जुन कुरा अरु धेरै जनाको लागि प्रेरणा हुन सक्छ । परिवारको आर्थिक अवस्थाका कारण उनले कक्षा १० पछि अध्ययन अघि बढाउन
सकेनन् । जीवन जिउने आधार खोज्दै उनी लखेटिदै लखेटिदै भारतसम्म पुगे । भारतको गुजरातमा उनले होटलमा काम पाए । साढे दुई वर्ष होटल मजदुरको रुपमा काम गरेको आचार्य बताउँछन् ।

भारतमा गएर होटलमा मजदुरी गर्नु उनको रहर थिएन, बाध्यता थियो । साढे दुई वर्ष गुजरातमा मजदुरी मै बिताए आचार्यले । गुजरातमा उनी काम गर्ने होटलले प्रचार–प्रसारका लागि साइकलमा चिया कफी बेच्थ्यो । विभिन्न कम्पनीहरुले पनि त्यसरी नै व्यवसाय गरिरहेको उनले थाहा पाए ।उनलाई लाग्यो, ‘यस्तो काम त म आफ्नो देशमा पनि गर्न सक्छु । यहाँ काम गर्नु भन्दा आफ्नो ठाउँमा सजिलै गर्न सकिन्छ ।’

आचार्यले अठोट गरे, यस्तो काम आफ्नो देशमा किन नगर्ने ? केही दिनमै उनले होटलको जागिरबाट राजिनामा दिएर आफ्नै देशमा केही गर्छु भन्ने संकल्पसहित घर फर्किए । घर फर्किएपछि केही समय उनी बेरोजगार बसेँ । पछि परिवारसँग साइकलमा चिया–कफी बेच्ने विषयमा छलफल गरे । उनको प्रस्ताव परिवारले स्वीकार ग¥यो ।

‘भारतबाट फर्किएपछि अरु काम खोजिन् । घरमा भने । सबैले मेरा प्रस्ताव स्वीकार गरे,’ उनले भने, ‘होटलमा काम गरेको पैसा थियो । त्यसैले चिया बेच्ने काम सुरु गरेको हुँ ।’ सुरुमा उनले साइकल खरिद्, झोला किन्ने र अन्य प्रयोजनका लागि २० हजार रुपैयाँ लगानी गरेको बताए । भारतमा दोस्रो दर्जाको नागरिक भएर दुःख गर्नुभन्दा आफ्नो ठाउँमा स्वाभिमानसहित चिया बेच्छु भनेर फर्किएको उनको भनाइ छ । उनी जहाँ जहाँ पुग्छन् । सबैले उनलाई राम्रो प्रतिक्रिया दिइरहेका हुन्छन् ।

आफ्ना ग्राहकहरुको राम्रो प्रतिक्रियाले व्यवसाय गर्न आफूलाई हौसला मिलेको आचार्य बताउँछन् । बिहान र साँझको समय गरी दिनमा दुईपटक चिया–कफी बेच्ने उनी कोहलपुरका बसपार्क, चौराहा, कृषि बजारलगायतका सहरी क्षेत्रमा पुग्छन् । ‘सुरु सुरुमा धेरैलाई थाहा
थिएन । धेरैले भ्रमणमा हिडेको हो की भनेर सोध्थे । झण्डा बोकेको देखेर । अहिले भने धेरैले मलाई देख्न बित्तिकै चिया–कफी खाऔँ भन्नुहुन्छ ।’उनले उत्साहित हुदै भने ।

२६ वर्षीय आचार्य दैनिक सरदर २ सय जनालाई चिया–कफी बेच्छन् । उनका केही नियमित ग्राहक समेत छन् । जो हरेक दिन उनको मात्रै चिया–कफी पिउँछन् । ४० जना भन्दा बढी नियमित ग्राहक रहेको आचार्यले बताए । ‘चिया–कफी बेच्ने व्यवसायबाट राम्रो कमाइ भइरहेको छ’ उनले भने, ‘दैनिक सरदर १५ सय रुपैयाँ कमाइ हुन्छ ।’ चिया–कफी बेचेरै उनी मासिक ३० देखि ४० हजार रुपैयाँ
कमाउँछन् ।

परिवारका कान्छा छोरा रहेका आचार्यको सफलताको पछाडी परिवारको भूमिका समेत महत्वपूर्ण छ । उनको परिवार चार सदस्यीय
छ । घरमा आमाबुवा, दाई र उनी छन् । नेपालमा रोजगारको अवसर भएन भन्दै विदेशिने युवाहरुलाई के भन्नुहुन्छ नी ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘धेरै युवा साथीहरु विदेश जान्छन्, यो राम्रो होइन । काम गर्न लाज हुँदैन । काम गर्न अर्कोका देशमा जानु पर्दैन । आफ्नै देशमा कमाउन सकिन्छ । काम ठूलो सानो केही पनि हुँदैन ।’

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २२ गते शुक्रबार