शुभाकर विश्वकर्मा । बाँके ।
आगामी फागुन २५ गतेदेखि कोहलपुरमा सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालनमा आउने भएको छ । योग एंव प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरको अगुवाईमा निर्माण भएको अस्पताल आगामी फागुनदेखि सञ्चालनमा आउने भएको हो ।
आइतबार सम्पन्न समाजको १०औँ वार्षिक साधारण सभाको अवसरमा बोल्दै अध्यक्ष नम प्रसाद शर्माले अस्पताल सञ्चालनको लागि भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएकोले अस्पताल सञ्चालनको तयारी थालिएको बताए । उनकाअनुसार समाजको आगामी सात कार्ययोजना मध्ये आयुर्वेद तथा प्राकृतिक सञ्चालन प्रमुख प्राथमिकताको रुपमा रहेको छ ।
‘तत्कालका लागि अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण भएको छ । फागुनबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका
छौँ । त्यसको लागि आवश्यक पूर्वाधार तथा जनशक्ति र सामग्री व्यवस्थापनको लागि तीन वटै तहका सरकारसँग समन्वय गरिनेछ,’ उनले भने, ‘अस्पताल सञ्चालन भएपछि सेवाग्राहीले प्राकृतिक तथा आयुर्वेदिक पद्धतीबाट सेवा पाउनेछन् । पश्चिम नेपालमा नयाँ पद्धतीबाट उपचार सेवा सुरु हुनेछ ।’
अस्पतालले १५ प्रकारका सेवा प्रदान गर्नेछ । ती सेवाहरुमा विरामीलाई योग गराउने, थेरापी गराउनेदेखि प्राकृतिक पद्धतीबाट उपचार गर्नेसमेत रहेका छन् । उक्त अवसरमा अस्पतालले एक आर्थिक वर्षमा गरेका काम र भावी योजना अध्यक्ष शर्माले प्रस्तुत गरेका थिए । उनकाअनुसार ९औँ साधारण सभा सम्पन्न भएदेखि समाजले एक वर्षमा २० वटा महत्वपूर्ण काम सम्पन्न गरेको छ । उक्त अवसरमा उनले आगामी सात कार्ययोजना समेत सुनाएका थिए ।
कार्ययोजनाहरुमा अस्पताल सञ्चालन गर्नेदेखि आयुर्वेदिक तथा प्राकृतिक उपचारका माध्यमबाट गरिने उपचारका फाइदा तथा प्रचारप्रसारका लागि गरिने र अध्ययन अवलोकन भ्रमण गर्नेसम्म रहेका छन् । उनले अस्पताल निर्माणका लागि सम्पूर्ण क्षेत्रबाट राम्रो साथ र सर्मथन पाएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।
साधारण सभामा बोल्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल कोहलपुरको गहना भएको बताए । उनले पश्चिम नेपालको केन्द्रको रुपमा रहेको अस्पताल सञ्चालन हुने कुरा सकारात्मक भएको समेत बताए ।
प्रतिनिधि सभा सदस्य ढकालका अनुसार अस्पताल सञ्चालनका लागि अझै पनि धेरै कुरा अप्रर्याप्त रहेको कुरामा आफू जानकार रहेको भन्दै त्यसको लागि प्रदेश तथा संघीय सरकार तथा मन्त्रालयमा फाइल बोकेर जान आफू तयार रहेको दाबी गरे ।
योग तथा प्राकृतिक उपचार विधि उपचार हुने अस्पताल सञ्चालनको लागि जनप्रतिनिधि रुपमा आफूले गर्ने सम्पूर्ण काम गर्न आफू इच्छुक रहेको उनको भनाइ थियो । ‘मलाई यहाँका जनताले काम गर्न सक्छन् भनेर पठाएका छन् । मैले यहाँको लागि धेरै कुरा गर्नुछ । त्यसको लागि हजुरहरुको सहयोग आवश्यक छ ।,’ उनले भने ।
साधारण सभामा बोल्दै कोहलपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख लूटबहादुर रावतले अस्पताल निर्माण आरोह, अवरोह तथा व्यवधानसँग परिचित रहेको बताए । अस्पताल निर्माणको लागि आफूले जग्गाको समस्या समाधानदेखि अस्पताल निर्माणमा भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरे । उनी नगर प्रमुख हुँदा अस्पताल निर्माणका लागि कोहलपुर नगरपालिकाले भौतिक संरचना निर्माणका लागि सहयोग गरेको थियो ।
उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारी नयाँ उपचारबाट उपचार हुने पश्चिम नेपालको केन्द्र बनाउन सम्पुर्ण सरोकारवाला एकजुट हुनुपर्ने बताए । समाजका सचिव दामोदर पौडेलका अनुसार अस्पताल निर्माणका लागि अहिलेसम्म तीन वटै तहका सरकार र समाजको तर्फबाट २ करोड ४४ लाख र समाजबाट ३० लाख गरी जम्मा २ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।
यसमा सबैभन्दा धेरै तत्कालीन लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री आरतीको पहलमा ९० लाख, त्यसपछि कोहलपुर नगरपालिकाले ७४ लाख र ३० लाख रुपैयाँ निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको पहलमा सहयोग प्राप्त भएको छ । अस्पताल निर्माणका लागि समाजका अध्यक्ष शर्माले मात्रै अहिलेसम्म व्यक्तिगत रुपमा १७ लाख रुपैयाँ खर्च गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्