शुभाकर विश्वकर्मा । कोहलपुर ।
मानिस जब जन्मिन्छ, सोही दिनदेखि मृत्यु पनि यात्राको साथी भइदिन्छ । जन्म र मृत्यु शास्वत सत्य कुरा हुन् । जन्म र मृत्यु तितो सत्यसमेत हुन् । जीवन यात्रा हो । जीवनमा कहिले उकाली गर्नुपर्छ । कहिले ओराली ।
सुख र दुःख जीवनका पाटा हुन् । मानिसको जीवनमा कहिले यस्तो घटना घटिदिन्छ, ‘जुन कुरा कहिले सोचिएकै हुँदैन ।’ तर त्यही कुरा भइदिन्छ । समयक्रमको खेल न हो, एक्कासी जीवन मृत्यु सन्निकट भइदिन्छ । त्यही मृत्युको सन्निकटबाट पुनर्जन्म पाउँदाको खुसी र हर्ष साट्ने अवसर जो सुकैले पाउँदैनन् । संसारमा कोही यस्ता भाग्यमानी मानिस हुन्छन्, ‘जो मृत्युलाई जितेर पुनर्जन्म पाउँछन् ।’
उनीहरु नाफाको जिन्दगी जिउँछन् । यस्तै मृत्यु जितेका व्यक्ति हुन्, कोहलपुर–९ का जितबहादुर थापा । नाम जस्तै उनले मृत्युलाई जितेका छन् । मृत्यु जितेर पुनर्जीवन पाउँदाको खुसी कस्तो हुन्छ, उनलाई बाहेक अरु कसलाई थाहा होला । जुन कुरा उनी शब्दमा उल्लेख गर्नै सक्दैनन् । आफूलाई यत्ति भन्छन्, ‘मृत्युले नरुचाएको मान्छे ।’ कालले रुचाएको हुँदो हो त उनी हाम्रो माँझ यसरी खुसी साट्न पाउँदैन थिए होला । परिवार, आफन्त र समाजमा उनको सम्झना मात्रै हुन्थ्यो । कालले उनलाई रुचाएन, आज सबैका माँझ उनले दिल खोलेर आफ्नो खुसी साटे, मृत्यु जित्दाको खुसी साटे, भावविह्वल भए, आँखाबाट हर्षका आँशु झारे, गाए अनि रमाएँ ।
पूर्व शिक्षक र कलाकारसमेत रहेका थापाले शुक्रबार आफ्नै घरमा वृत्तचित्र ‘कालले नरुचाएको मान्छे’ प्रस्तुत गरे । भव्य समारोह आयोजना गरेर जीवन यात्रा, मृत्यु जितेपछि खुसी र भावी योजनालगायत सुनाए । थापा असोज ७ गते एक्कासी बिरामी भए । रोग पहिचान गराउन उनी, कोहलपुर, नेपालगन्ज र लखनउ मात्रै होइन विभिन्न जिल्लाका धामी, झाँग्री कहाँ पुगे । अस्पतालमा जाँदा औषधि दिन्थे । धामी कहाँ पुग्यो, बोक्सी लागेको छ भन्थे । सेकेण्ड, मिनेट, घण्टा, दिन अनि महिना बित्यो । उनको बिमार न सञ्चो भयो न पहिचान । उनको शरीर जीर्ण बन्दै भयो । तर, उपलब्धि शून्य । वृत्तचित्र कालले नरुचाएको मान्छेमा उनले भनेका छन्, ‘कुन अस्पतालका ढोका चहारिन्ँ ।
उपलब्धि केही भएन । प्रयोगशालामा रगत तान्दातान्दै, रिपोर्ट कुर्दै, औषधि खाँदाखाँदै कमजोर भएँ । म बेहोसी अवस्था मै थिएँ, मलाई बचाउन सबैले प्रयास गरिरहे ।’ ‘जे गर्दा पनि न उनी निको भए न रोग पत्ता लाग्यो । अन्त्यमा उनको काठमाडौंमा रहेकी छोरीको सक्रियतामा मंसीर २९ गते जहाज चार्टर गरेर ह्याम्स अस्पताल पु¥याइयो । एक घण्टा होइन, दुई घण्टा होइन ७२ घण्टासम्म उपचार गरियो । मेरो होस पुस ३ गते पछि मात्रै खुल्यो,’ वृत्तचित्रमा उनी भन्छन् । कोहलपुरबाट काठमाडौं लैजाँदा मरिसकेको मान्छेलाई किन लगिएको होला भनिएका जितबहादुरलाई अस्पतालले मृत्युबाट बचाए पुस ७ गते अस्पतालबाट फूलमालासहित बिदाइ ग¥यो ।
जितबहादुरलाई शरीरमा आवश्यक सोडियमको मात्रा अत्यन्त कम हुने समस्या भएको रहेछ । यस्तो समस्या भएका मानिस जुनसुकै समयमा बेहोस हुन्छन् । सोडियमको मात्रा कम हुने समस्या चरम अवस्थामा पुग्यो भने मानिसको मृत्यु हुन्छ । चिकित्सकहरुका अनुसार यस्तो समस्याका भएका अधिकांश मानिसले मृत्युलाई जित्न सक्दैनन् । जितबहादुरको हकमा भने अनौठो नजिर स्थापित भएको छ । लगातार तीन दिनसम्म आइसियुमा राखेर उपचार गरेर उनी बाँच्न सफल भए । कलाकारसमेत रहेका उनले खुसी साट्न वृत्तचित्र, कालले नरुचाएको मान्छे निर्माण गरे । घरमा औपचारिक समारोहको आयोजना गरेर सबैसामु खुसी साटे ।
‘मेलम्चीको पानी’ खाएर विभेदविरुद्ध अभियान सुरु
उक्त अवसरमा उनले आफू अब सामाजिक कूरीति, विसंगति र जातीय विभेदविरुद्धको अभियानमा सक्रिय हुने उद्घोष गरे । उक्त कार्यक्रममा उनले दुईजना दलित समुदायका व्यक्तिको हातबाट मेलम्चीको पानी खाए । जातीय विभेदको अभियान सुरु भएको घोषणा गरे । जितबहादुरलाई एक कार्यक्रममा बीच, वरिष्ठ सञ्चारकर्मी तथा लोक गायक कमल विके निर्मोही र नाट्यकर्मी तथा संगीतकर्मी सन्तकुमार विश्वकर्माको हातबाट पानी खाएका थिए ।
काठमाडौंबाट उनले बहुचर्चित परियोजना मेलम्ची खानेपानी आयोजनाको पानी ल्याएका थिए । उक्त पानी खाँदै अभियान सुरु गरिएको हो । उक्त अवसरमा बोल्दै वरिष्ठ सञ्चारकर्मी तथा लोक गायक निर्मोहीले मानिसको कुनै जात नहुने बताए । उनले नेपाली समाजमा अहिले पनि जातीय विभेद चरम अवस्थामा रहेको भन्दै यस्ता विकृतिविरुद्ध एकजुट हुनुको विकल्प नभएकोमा जोड दिए । आफ्ना सहपाटी कलाकारसमेत थापाले सुरु गरेको अभियान रचनात्मक रहेको उनले टिप्पणी गरे ।
जितबहादुरको जस्तै हरेक नेपालीहरु जातीय विभेदविरुद्धको अभियानमा सरिक हुनुपर्ने बताए । उक्त अवसरमा लुम्बिनी प्रदेशकी निवर्तमान सांसद पार्वती पुन (उषा)ले लामो समयदेखि समाजको जागरणमा सक्रिय रहेका जितबहादुरले थालेको अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी थिइन् । पूर्व शिक्षक तथा कलाकार समेत रहेका थापा दैलेखमा जन्मिएक हुन् । पछि उनको परिवार बाँकेमा बसाइँ सरेको थियो । कलाकारिताको माध्यमबाट पञ्चायती शासनको विरोध गर्दा उनी सात दिन जेल परेका थिए । स्थानीय समाजसेवी, शिक्षासेवी, कलाकार, अभिनेता, टेली श्रृंखलामा अभिनयसमेत रहेका उनी बहुआयमिक व्यक्तिको रुपमा चिनिन्छन् ।
उनी शिक्षक अवधिभर नौवटा विद्यालयमा पढाएका थिए, कोहलपुरमा रहेको सिर्जना बाल प्रावि र सरस्वती माविको प्रधानाध्यापक भएरसमेत काम गरे । राष्ट्रिय शिक्षा पुरस्कार, जिल्ला शिक्षा कार्यालयबाट सम्मानित भएका उनी हाल नायब सुब्बा सरहको पेन्सनरसमेत हुन् ।









प्रतिक्रिया दिनुहोस्