शुभाकर विश्वकर्मा । कोहलपुर ।
आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार क्षेत्र नम्बर १ को बैठकले आकांक्षीहरुको नाम प्रदेशमा सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ र प्रदेशतर्फ (क) तथा (ख) का लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरिएको हो । उक्त बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्रत्यक्षतर्फ सातजनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेमा संघीय सरकारका बहालवाला मन्त्री, लुम्बिनी प्रदेशसभा सदस्यदेखि बाँके जिल्ला समन्वय समितिका सदस्यसम्म छन् । सिफारिसमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) र नेता नरेन्द्र न्यौपाने रहेका छन् । गहतराजले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट जितेका थिए । तत्कालीन बामगठबन्धनबाट उम्मेदवार बनेका उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् ।
दोस्रोपटक उनले यही क्षेत्रबाट आकांक्षा देखाएका छन् । यस्तै गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित भएकी नमुनाले यसपटक भने प्रतिनिधिसभामा आंकाक्षा देखाएकी छिन् । नमुना प्रदेशसभा सदस्य र पार्टीको केन्द्रीय सदस्यसमेत हुन् । उनी सिफारिसको दुई नम्बरमा छिन् । यस्तै अर्का केन्द्रीय सदस्य तथा युवा नेता नरेन्द्र न्यौपानेसमेत प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन् ।
पार्टीको प्रदेश (ख)का इञ्चार्जसमेत रहेका न्यौपाने यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा समेत उनी कोहलपुरको मेयर पदमा पराजित भएका थिए ।
यस्तै पूर्व क्षेत्रीय संयोजक तथा वर्तमान जिल्ला समन्वय समिति बाँकेका सदस्य नरबहादुर केसी (नरेश), प्रकाश सुवेदी (चन्द्रकान्त), ओमप्रकाश केसी र पार्टीको अनुशासन आयोगका केन्द्रीय सचिव अशोक रोकायको नाम पनि सिफारिस गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्