खैरापुर संरक्षण क्षेत्रमा बढे कृष्णसार



बाँके ।

गुलरियाको खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसार बढेका छन् । पछिल्लो पटक कृष्णसारको संख्या २६ वटा बढेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरले जनाएको छ ।

एक वर्षअघि संरक्षण क्षेत्रमा १ सय ६४ वटा कृष्णसार रहेकोमा अहिले १ सय ८२ वटा पुगेका छन् । चोरी, सिकारी नियन्त्रण तथा संरक्षणमा पाएको सफलताका कारण कृष्णसारको संख्यामा वृद्धि बढेको हो । एक वर्ष अघि संरक्षण क्षेत्रमा भाले, पोथी र बच्चासहित १ सय ६४ वटा कृष्णसार रहेका थिए ।

हाल गणना गर्दा भाले ४२, पोथी १ सय १४ र बच्चा २६ वटा गरी १ सय ८२ पुगेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरले जानकारी दिएको छ । यसअघि संरक्षण क्षेत्रमा चितुवा, हुँडार र भुस्याहा कुकुरको आक्रमणले दर्जनौं कृष्णसार मारिने गरेका थिए ।

नियमित गस्तीसँगै चितुवा, भुस्याहा कुकुर र हुँडारले आक्रमण गर्न नपाएपछि कृष्णसारको संख्या बढ्दै जान थालेको हो । पछिल्लो एक वर्षको अवधिमा संरक्षण क्षेत्रमा ३७ वटा कृष्णसार विभिन्न कारणले मरेका थिए । दुई वर्षअघि ८५ वटा कृष्णसार मारिएको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरले जनाएको छ ।

खैरापुरमा तीन वर्ष अघिसम्म करिब तीन सयसम्म पुगेको थिए । सामान्यता वर्षमा २ वटा बच्चा जन्माउने यो वन्यजन्तु बासस्थान अतिक्रमणसँगै हुँडार र भुस्याहा कुकुरको आक्रमणको सिकार बन्दै गएको बताइन्छ ।

चितुवा र हुँडारबाट बचाउन सके एक वर्षमा कृष्णसारको संख्या तीन सय बढी पुग्ने अनुमान संरक्षणकर्मीले गरेका छन् । खैरापुर क्षेत्रमा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि २०६५ सालमा कृष्णसार संरक्षण क्षेत्र स्थापना गरिएको थियो ।

संरक्षण क्षेत्रमा कृष्णसार बाहेक १ सय ७ प्रजातीका वनस्पती, ३२ प्रजातीका बृक्ष, ६४ प्रजातीका पंक्षी तथा १४ प्रजातीका स्तनाधारी जनावरहरु पाईने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार