‘बुह्रान’ सम्भवतः नेपाली लेख्य साहित्यमा पहिलोपटक प्रयोग भएको शब्द हो । थारु भाषाका केही गीतहरुमा यसको प्रयोग भएको भए पनि नेपाली भाषाको लेख्य साहित्यले यस शब्दलाई प्रयोग गरेको पाइँदैन । त्यसमा पनि उपन्यास नै यसै शब्दबाट राखिँदा धेरैले चासो राखिरहेका थिए ।
नेपालगन्ज ।
केही समय यता सामाजिक सञ्जालमा साहित्यमा रुची राख्नेहरुमाझ महानन्द ढकालकृत पहिलो उपन्यासको नाम ‘बुह्रान’ चर्चा परिचर्चाको विषय भइरहेको थियो । शनिबार एक भव्य कार्यक्रमकाबीच कोहलपुरमा उपन्यास पुस्तकारमा विमोचन भयो ।
प्रायः बाँकेका साहित्यिक कार्यक्रममा सीमित तप्काको उपस्थिति रहने गरेकोमा ढकालको बुह्रान उपन्यास विमोचन कार्यक्रममा ठूलो उपस्थिति देख्न पाइएको कार्यक्रममा सहभागीहरु बताउँदै थिए । साहित्यमा रुची राख्ने, विद्यार्थी, शिक्षकदेखि राजनीतिकर्मीहरुसमेतको कार्यक्रममा उपस्थिति देख्न सकिन्थ्यो ।
बाँकेका अतिरिक्त बर्दिया, दाङ, सुर्खेतलगायतका जिल्लाबाट पनि साहित्यकारहरु उपस्थित थिए । चर्काे गर्मीमा पनि हल खचाखच भरिएको थियो । कार्यक्रममा बोल्ने क्रममा लेखक सागर गैरेले भने, ‘यस्तो जमघट पूर्णिमा साहित्य प्रतिष्ठानले एकदमै कम कार्यक्रममा देख्न पाएको छ ।’
बुह्रान सम्भवतः नेपाली लेख्य साहित्यमा पहिलोपटक प्रयोग भएको शब्द हो । थारु भाषाका केही गीतहरुमा यसको प्रयोग भएको भए पनि नेपाली भाषाको लेख्य साहित्यले यस शब्दलाई प्रयोग गरेको पाइँदैन । त्यसमा पनि उपन्यास नै यसै शब्दबाट राखिँदा धेरैले चासो राखिरहेका थिए ।
उपन्यास विमोचन कार्यक्रमपछि आयोजित परिचर्चामा लेखक सुशिल चौधरीले भने, ‘अहिलेसम्म बाँके बर्दिया, कैलाली, कञ्चनपुरलगायतको क्षेत्रलाई थारु समुदायले दिएको बुह्रान नाम नेपाली शब्दकोषमा नै नहुनुले बुझिन्छ हाम्रो राज्य कति पक्षपाती छ ।’
परिचर्चामा सहजकर्ताको भूमिकामा रहेका कवि नविन अभिलाषीका प्रश्नको जवाफ दिँदै लेखक चौधरीले बुह्रान उपन्यास धेरै पात्र र थारु तथा पहाडी दुई समुदायको समानान्तर कथाहरुको उपन्यासकारुपमा आफूले पाएको बताए । अभिलाषीले ‘बुह्रान उपन्यासमा थारु समुदायले अपनत्व महसुस गर्न सक्छ ?’
भन्दै दोहो¥याएर सोधेको प्रश्नमा चौधरीले भने, ‘उपन्यासको एक पात्रले अधिकारको लामो संघर्ष गर्छ । अन्तमा उसलाई सुकुम्बासी आयोगको सदस्यका रुपमा दिएको प्रमाणपत्र उसले च्यातेर फाल्छ । यसले थारु समुदायको अधिकारको संघर्ष अझै सकिएको छैन भनेर उपन्यासले थारु समुदायको भावना जबरजस्तरुपमा उठाउन खोजेको अर्थमा मैले बुझेको छुँ ।’
चौधरीले थारु समुदायले दाङबाट पश्चिम लाग्दा तराईमा देखिने फाँटहरुको क्षेत्रलाई बुह्रान भन्ने गरेको बताए । बुह्रानलाई थारु समुदायले अनेक विपत्तिको ठाउँ र अवसरको ठाउँ गरी दुई किसिमले बुझ्ने गरेको बताए ।
परिचर्चामा सहभागी नेपाली भाषाका मानक कथाकार सनत रेग्मीले मानिसहरुले बसाइँसराइ अवसर र सुविधाको खोजी तथा थिचोमिचो वा अत्यचारबाट बच्न गरी मुख्यतः दुई कारणले गर्ने गर्ने गरेको बताउँदै बुह्रानले थारु समुदायले बसाइँ सर्दाका ती दुई कारणको उजागर गरेको बताए ।
उनले उपन्यासको शीर्षक बुह्रान सही छनोटको गरिएको पनि बताए । लेखक चौधरीले उठाएको विषयमा सही थप्दै उनले नेपाली शब्दकोषले अब नेपालका सबै भाषामा भएको शब्द भण्डारलाई समेट्न नसक्ने भएको राष्ट्रिय शब्दकोषको आवश्यकता औँल्याए ।

सांग्रिला बुक्स प्रकाशन गृहले बजारमा ल्याएको बुह्रानका लेखक साहित्यकार महानन्द ढकालले आफूले सानो उमेरदेखि भोग्दै आएको र देख्दै आएको थारु समुदायको कथा आफूले लेख्नुपर्छ भन्ने महसुस भएपछि उपन्यास जन्मिएको बताए । उनले बुह्रानले आफ्ना अधिकांश अनुभव र केही अध्ययनपश्चात आकार ग्रहण गरेको उल्लेख गरे । महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् ।
कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका यसअघि ‘खण्डित आत्मा’ गजल संग्रह २०५८, ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल संग्रह २०५९, ‘अव्यक्त प्रत्याशा’ गजल संग्रह २०६३, ‘घाम उदाए’ हाइकु संग्र्रह २०६८ र सिमाना मुक्तक संग्रह २०७७ प्रकाशित छन् ।
कथाकार सनत रेग्मीले विमोचन गरेको उपन्यास विमोचन कार्यक्रममा बोल्दै लेखक नरेन्द्रजंग पिटरले साहित्य र बौद्धिक विमर्शमा ठूल्ठूला परिवर्तनहरु गराउन सक्ने क्षमता रहेको दृष्टान्त प्रस्तुत गर्दै स्थानीय सरकारहरुले साहित्य र संस्कृति प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बुह्रानको विमोचनसँगै उपन्यासकार ढकालका पिताको सम्झनामा स्थापित तुलसिराम स्मृति पुरस्कार साहित्यकार डा. इन्द्र भण्डारीलार्ई प्रदान गरिएको छ । सात भण्डारीलाई हजार सात सय सतहत्तर रुपैयाँ नगद राशीको पुरस्कार कार्यक्रका प्रमुख अतिथि कथाकार रेग्मी र अक्षयकोषका संरक्षक पवित्रा ढकालले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
हाम्रो पुर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद तिमिल्सिना कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्