कविन्द्र परियार
कोहलपुर, १४ साउन
जुम्लास्थित पातारासीकी एक युवतीलाई नेपालगन्जको जमुनाह हुँदै भारत पु¥याइयो । विवाह गरेको नाममा भारत पु¥याइएकी उनलाई विभिन्न प्रलोभन देखाउँदै भारत पु¥याइएको थियो । तर उनलाई भारतमा अनेकन दुःख दिइयो । त्यस्तै रोल्पाकी बालिकालाई पनि नेपालगन्जस्थित जमुनाह हुँदै पैसाको प्रलोभनमा भारत पु¥याइएको थियो । तर, विभिन्न संघसंस्थाको सहयोगमा ति युवती र बालिकालाई उद्दार गरियो ।

यति मात्र होइन, पछिल्लो पश्चिम नेपालका बालबालिका, महिला तथा युवती जोखिममा पर्दै गएको तथ्यांकले देखाएको छ । अशिक्षा, गरिबी र चेतनाको कमीले उनीहरु जोखिममा पर्दै गएका हुन् । पछिल्लो ११ वर्षमा यसको संख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०६७÷२०६८ जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको संख्या दुई सय १४ थियो । आर्थिक वर्ष २०७८÷२०७९ सम्म पुग्दा यो संख्या ६ सय २७ पुगेको छ । त्यस्तै ६ वटा बेचबिखनका घट्ना मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सीमा नाकाबाट परामर्श दिई घर फिर्ता गरिइएको संख्या ६ सय ४८ पुगेको छ । ११ वर्ष अघि यो संख्या ५७ थियो ।
आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांकअनुसार जोखिमपूर्ण यात्रामा रहेका ६ सय २७ मध्ये ६ सय २३ जना व्यक्तिलाई सिमानाबाट उद्दार गरी घर फर्काइएको र बाँकी चारजना माइती नेपालको सेल्टरमा रहेको माइती नेपाल नेपालगन्जका कार्यालय प्रमुख केशव कोइरालाले जानकारी दिए ।
सीमाबाट फर्काएका अधिकाश व्यक्ति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका छन् । तीमध्ये सबैभन्दा बढी महिला र माध्यमिक तहको शिक्षा लिने उमेरका रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा यो संख्या दोब्बर छ । २०७७÷०७८ मा मानव बेचबिखनको जोखिममा रहेका तीन सय नौजनामध्ये तीन सय पाँचजना घर फर्काएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा श्रम र यौन शोषणमा परेका ११ जनालाई उद्दार गरिएको छ । त्यस्तै सीमाबाट मानव बेचबिखन बारे परामर्श दिई ६ सय ४८ जनालाई घर फर्काएको छ । खोजतलास गरी पाउ भनी दिएको निवेदनमध्ये सात सय दुईजना रहेकोमा जम्मा दुई सय ८५ जना मात्रै फेला परेका छन् । माइती नेपाल नेपालगन्जका कार्यालय प्रमुख कोइरालाका अनुसार मानिस हराउने क्रममा कमी नआएको देखिन्छ । हराइरहेका अन्य चार सय २७ जनाको अवस्था बारे कुनै जानकारी छैन । त्यस्तै घरेलु हिंसामा परेका १८ जनामध्ये १४ जनाको समस्या समाधान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्