तपाईं दोस्रो कार्याकाल गाउँपालिकाको नेतृत्वमा हुनुहुन्छ । यसपटक नीति तथा कार्यक्रम तय गर्दा र अघिल्लो कार्यकालको पहिलो वर्षको नीति तथा कार्यक्रम तय गर्दा केही फरक महसुस भयो कि उस्तै ?
धेरै फरक छ । जतिबेला हामी पहिलोपल्ट निर्वाचित भएर आएका थियौँ त्यतिबेला यहाँ विकास शून्यबाट सुरु गर्नुपर्ने थियो ।
जिल्लाको सदरमुकामसँगको सडक सम्पर्क पनि आधा वर्ष मात्रै हुन्थ्यो । त्यो पनि बाटोको हालत कस्तो थियो तपाईंलाई थाहा छँदै छ । हामी आइसकेपछि बाटो निर्माणलाई तिव्रता दिन सघायौँ । बाटो आइसकेपछि धेरै कुरा सहज हुँदो रहेछ ।
यसैगरी यहाँ आधाभूत सेवाहरु शिक्षा र स्वास्थ्यको हालत पनि खराब थियो । बालबालिकाहरु विद्यालय नै जान्थेनन् । अहिले करिब सबै बालबालिका विद्यालय आउँछन् ।
स्वास्थ्यको कुरा गर्नुहुन्छ भने यहाँ एउटा हेल्थ पोष्टको त्यति ठूलो भवन नै निर्माण भएको छ । अन्य सुविधा पनि वृद्धि भएको छ । त्यस कारण पाँच वर्ष पहिलेको नीति निर्माण गर्दा हामीलाई कहाँबाट सुरु गर्ने नै अलमलको विषय थियो । यसपटक हामी क्लियर भएर अघि बढेका छौँ ।
के–के कुरामा क्लियर हुनुभयो ?
मुख्य कुरा शिक्षाको विकास नगरी हाम्रो विकास हुन सक्दैन भन्ने कुरा हामीले जनतालाई बुझाउन सकेका छौँ । नानीहरुलाई स्कुल पठाउन अभिभावकहरु जागरुक भएका छन् । छोरीहरुलाई विद्यालयमा ल्याउन हामीले विशेष कार्यक्रमहरु सञ्चालन गरेपछि त्यसको परिणाम राम्रो देखिएको छ । अब हामीलाई यी कामलाई थप प्रभावकारी बनाउनु छ ।
शिक्षालाई गुणस्तरीय बनाउने पहिलो प्राथमिकता छ । त्यसको लागि विद्यालयको स्तरोन्नति गर्नु पर्नेछ । किनकी अब विद्यार्थीहरु धेरै भएपछि विद्यालयमा त्यहीअनुसारको ठाउँको पनि व्यवस्था गर्नुप¥यो । अरु पूर्वाधारहरु पसिन बढाउनुप¥यो र शिक्षकहरुको पूर्ति पनि गर्नुप¥यो । यो काम अबको मुख्य काम हो ।
अर्काेतिर स्वास्थ्यमा बनेका पूर्वाधारहरुको उपयोग गर्नेगरी सेवा थप्नुपर्नेछ । यही अप्रेसन गरेर उपचार हुनेसम्मको व्यवस्था गर्न सक्यौँ भने धेरै राहत हुनेछ । आँखाको उपचार हुने व्यवस्था पनि यतै गर्नतिर लाग्ने सोच बनाएका छौँ । र कृषि यहाँको मुख्य आर्थिक स्रोत हो । अब कृषिलाई टेक्नोलोजीसँग जोडेर अघि बढाउने हाम्रो योजना छ ।
भौतिक पूर्वाधारमा तपाईंहरुको प्राथमिकता के हो ?
भौतिक पूर्वाधारमा सबैभन्दा पहिले त सडकको स्तरनोन्नति नै हो । भर्खर निर्माण र स्तरोन्नतिको क्रम सुरु भएकोमा अब भित्री सडक र टोल बस्तीसम्म पुग्ने सडकहरुलाई हिलाम्मे र धुलाम्मे हुनबाट मुक्त गर्नुपर्नेछ । अर्काे यहाँलाई थाहा छ हाम्रो गाउँपालिकामा पर्यटकीय क्षेत्र छ सन्तानेश्वर मन्दिर ।
त्यहाँसम्म पर्यटकलाई तान्न र सहजरुपले त्यहाँसम्म पुग्नेखालको पूर्वाधारको विकास गर्नुपर्नेछ । यसका साथै अन्य थुप्रै कामहरु हाम्रो योजनामा छ । तर हामीले बजेटले कतिसम्म भ्याउँछ भन्ने कुरा हेर्न बाँकी छ ।
बजेट कमीको महसुस भएको हो ?
मैले अघिल्लो कार्यकालमा यही विषयमा आवाज उठाएको थिएँ कि नरैनापुरजस्तो ठाउँको विकासका लागि अरु पालिकाजस्तै बजेटले पुग्दैन । यस्तो ठाउँलाई बढी प्राथमिकतामा राखेर माथिल्ला सरकारले पनि विशेषखालका कार्यक्रमहरु ल्याइदिनुपर्छ ।
तर भनेको जस्तो हुँदैन । सीमित बजेटले धेरै कामहरु गर्नुपर्ने हुन्छ । हामीसँग अहिले आन्तरिक स्रोत छैन । सबै माथिकै बजेटमा भर पर्नुपर्ने हुन्छ । यस्तो कारणले ठूला योजनाहरु तय गर्न गाह्रो हुने रहेछ । हामीले अहिलेसम्म यो महसुस गर्दै आइरहेका छौँ ।
अब आन्तरिक स्रोत बढाउनेतिर सोच्नुभएको छ ?
हेर्नुस् आन्तरिक स्रोतको लागि हामीसँग विकल्प भनेको उद्योगहरु खोल्ने वातावरण बनाउने नै उपाय छ । अरु हामीसँग वन जंगलबाहेक स्रोत छैन । त्यसकारण अब हामी यहाँ उद्योगहरुलाई स्वागत गर्न चाहन्छौँ । बाटो बनेको छ । बिजुली पुगेको छ । कमसेकम कृषिमा आधारित साना तथा मझौला उद्योग खोल्न यहाँ वातावरण त बनेको छ ।
त्यस कारण उद्योग खोलियो भने यहाँका युवाले पनि रोजगारी पाउँछन् । जनशक्तिको उपयोग हुन्छ । स्थानीयको आम्दानी बढ्नु भनेको गाउँपालिकाको आम्दानी बढ्नु हो । अर्काेतिर कृषिमा पनि अब व्यवसायीकरण गर्नेतिर हाम्रो ध्यान गएको छ ।
अन्तमा केही भन्नु छ ?
म नरैनाापुरवासी र सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छुँ । दोस्रोपटक सेवा गर्ने अवसर दिनुभएको छ । यसलाई उपयोग गरेर कसैले पनि चित्त नदुखाउने गरी विकास गर्ने छु भन्ने प्रतिबद्धता जनाउँछुँ ।









प्रतिक्रिया दिनुहोस्