गत शनिबार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आख्यान विभागको आयोजनामा कथा सङ्ग्रह ‘मोम्चो’ माथि अन्तरक्रिया भयो । बाईस वर्षदेखि पत्रकारितामा जमेका चितवन भरतपुरका वसन्त पराजुलीको कथा सङ्ग्रह ‘मोम्चो’ पछिल्लो समय चर्चामा रहेको कथा सङग्रह हो । वर्ष पत्रकारितासँगै कथा लेखनमा जमेका छन् ।
उनको ‘कुमाता’ र ‘मोम्चो’ कथासंग्रह प्रकाशनमा आईसकेको छ । ‘कुमाता’कथा सङग्रहपछि दोस्रो कथा सङग्रहका रुपमा प्रकाशनमा आएको ‘मोम्चो’ कथासंग्रहमा ११ वटा कथा छन् । ‘मोम्चो’ चेपाङ भाषाको शब्द हो । यसको अर्थ महिला वा नारी भन्ने हो । यही कथासङ्ग्रहमा केन्द्रित रहीकथाकार बसन्त पराजुलीसँग हाम्रा साहित्यिक सम्पादकमहानन्द ढकालले गर्नुभएको कुराकानीका केही अंश ।

पत्रकारिता गरिरहेको एउटा पत्रकार कसरी साहित्य लेखनमा आइपुग्यो ? साहित्यिक लेखनमा आइनु पछाडिको खास कारण केही छ ?
नेपाली साहित्यका क्षेत्रमा सानैदेखि केही न केही गराँै भन्ने मेरो रुचि थियो । तर, सानै उमेरमा बुबाको निधनपछि मलाई घर गृहस्थले तान्यो । साहित्यतर्फ रुचि भएरै पनि खासै कलम चलाउन सकिएन । फाट्टफुट्ट रुपमा निबन्ध, कविताजस्ता रचनाहरू भने गरिरहन्थँे । कलेज पढ्ने क्रममा चाहेर पनि नचाहेर पनि म पत्रकारितामा आवद्ध भएँ ।
पत्रकारिता मेरालागि पेशाभन्दा पनि जागिरको बाध्यता थियो । तर यहीँ रहँदा बस्दा मलाई यो पेशा पनि सहज र राम्रो लाग्न थाल्यो । रिपोर्टिङका क्रममा विभिन्न स्थानहरूको भ्रमण गर्न पाइने र समाजका हरेक तह र तप्कामा नागरिकसँगको भेटघाट भलाकुसारीले पनि मलाई पत्रकारितामा टिकाइराख्न सहयोग ग¥यो ।
अहिले तिनै पत्रकारितामा बिताएका२२ वर्ष लामो अवधिमा भेटिएका पात्र र प्रवृत्तिलाई मुख्य विषय बनाएर मैले कथा लेखन शुरु गरे ।मेरो कथा लेखनमा कथाका प्रतिपादित सिद्धान्त र नीतिभन्दा पनि समाजको यथार्थ चित्रण बोलेको छ । तपाईँ हाम्रो घर घरका कहानी लेखेर नै मैले कथाको रुप दिएको हुँ । जसलाई पाठकहरूले रुचाउनुभयो भन्ने लाग्छ । पछिलो समय मभित्र दबिएर बसेको रुचिले मूर्त रुप लिन थालेको हो । यही रुचिले मलाई साहित्य लेखनमा डो¥याएको हो ।
पत्रकारितालाई हतारको साहित्य भनिन्छ। योहतारको लेखनले गम्भीर साहित्य लेखनमा के कति सहयोग गर्दो रहेछ ?
निश्चय नै पत्रकारितालाई हतारको साहित्य भन्ने गरिन्छ । त्यसो हो भने के साहित्यचाहिँ फुर्सदमा मात्रै लेखिने विषय हो त ? आजभोलि यो दुवै पक्षका परिभाषा फेरिएका हुन् कि भन्ने लाग्छ । हामीले हिजो जे भनियो त्यसैलाई मात्र परिभाषामा बुभm्नु अहिलेको समयमा व्यवहारिक हँुदैन ।
अहिले पत्रकारिता भनेको हतारमा मात्र गरिने विषय पनि होइन । आधुनिक प्रविधिले गर्दा पत्रकारिता हतारको साहित्य भन्ने अवस्थाबाट गुज्रिसकेको छ । हतारिनु नै पर्ने अवस्थामा पनि पत्रकारिताले आफ्नो आदर्श,मूल्य र मान्यताको उल्लङ्घन गर्नसक्दैन । अन्यथा पत्रकारिताको न भविष्य हुन्छ न स्थायित्व नै ।
यस्तै साहित्य सिर्जना पनि फुर्सदमा मात्र लेखिने विषय होइन । व्यस्तताका बाबजुद पनि लेखिएका कृतिहरू हेर्नुस् न कति विशिष्टता पाएका उदाहरण छन् । साहित्य र पत्रकारिता दुवै सिर्जनशील क्षेत्र हुन् । पत्रकारिता यथार्थमा आधारित हुन्छ भने साहित्यले यथार्थलाई नै आधार बनाएर परिकल्पनासहित पस्कने गरेको हुन्छ । साहित्य र पत्रकारिता एक सिक्काका दुई पाटा भएकाले एकले अर्कालाई सहयोग गरेको मैले महसुस गरेको छु । पत्रकारिताले कुनै पनि विषयको पहुँचमा पुग्न सहयोग गर्छ ।
धेरै आख्यानकारहरूले आफ्नोे जीवनमा घटेका घटनाक्रमलाई लेखनको विषयवस्तुमा समेटेको पाइन्छ । यहाँका विषयवस्तुमा व्यक्तिगत जीवनको प्रभाव परेको छ कि छैन ?
मेरो लेखकनको मुख्य विषय कथा हो । मानिसको जीवन आफैमा कथाहरुको सँगालो पनि हो । कथा नहुने मानिस कुनै पनि समाजमा हुँदैनन् । यस दृष्टिले कथा र मानिस एकअर्काका पर्याय नै हुन् भन्न सकिन्छ । मानिस जुन समाजमा बाँच्दछन् त्यही समाजका सामाजिक, धार्मिक,सांस्कृतिक तथा राजनीतिक अवस्थाबाट जीवनयापन गर्ने क्रममा भोगिने व्यथाहरू नै आजका कथा हुन् । त्यसैले कथाले नै समाजलाई प्रतिविम्बित गर्ने गरेको मानिन्छ ।
आख्यानकारहरू पनि यही समाजका पात्र हुन् । उनीहरूले लेख्ने विषय पनि व्यक्तिगत जीवनवाट प्रभावित नहोला भन्न सकिँदैन । मेरो सवालमा मैले माथि नै भनिहालँे मेरो व्यक्तिगतभन्दा पनि समाजको कुरा बोलेका कारण आफ्नो जीवनभन्दा पनि समाज बोलेको छु भन्नुपर्ला ।
पहिलो कथा सङ्ग्रह ‘कुमाता’को सफलताले दोस्रो कथा सङ्ग्रह ‘मोम्चो’ जन्मिएको हो वा ‘मोम्चो’ कथा सङ्ग्रहका विषयवस्तुहरू पहिलेदेखि नै सङ्कलित थिए ?
मेरो पहिलो कृति‘कुमाता’ यतिसम्म लोकप्रिय बन्यो कि एकै वर्षमा तेस्रो संस्करण प्रकाशन हुन पुग्यो । एउटा लेखकका लागि योभन्दा ठूलो गौरवको विषय केही होइन । अझै चिसाप राजकृष्ण कँडेल लगायतका विभिन्न पुरस्कारहरू पनि ‘कुमाता’ले हात पा¥यो । यसले मलाई थप लेखनका लागि जिम्मेवार बनायो ।
त्यही जिम्मेवारीको परिणामस्वरुप दोस्रो कथासङ्ग्रह ‘मोम्चो’ आएको हो । ‘कुमाता’मा भन्दा पनि ‘मोम्चो’मा अहिले मैले विषयगत विविधताको खोजी, त्यसको उठान र प्रस्तुतिमा बढी मेहेनेत गरेको छु । यसको मूल्याङ्कन पाठकहरू गरिरहनु भएको छ र गरिरहनुहुनेछ भन्नेमा म विश्वस्त छु ।
आफ्ना कथा सङ्ग्रह आफै पाठक भएर अध्ययन गर्नु भएको छ कि छैन ? पाठकको नजरबाट हेर्दा मोम्चो कथा सङ्ग्रह कस्तो कथा सङ्ग्रह हो ?
कथा कोरा कल्पना मात्रै होइन, यो त समाज देखाउने ऐना पनि हो । कल्पनाशीलताभन्दा पनि समाजमा नारीको अवस्था र भोगाइलाई ‘मोम्चो’भित्रका प्रायः कथाले आफ्नो विषयवस्तु बनाएका छन् ।
प्रायः कथाका मुख्य पात्र पनि ‘मोम्चो’ नै छन् अर्थात चेपाङ महिला नै छन् । कथाहरूले नारी हिंसा, उत्पीडन र विभेदलाई कुनै न कुनै रुपमा उठाएकै छन्, तिनमा यस्ता गलत काम गर्नुहँुदैन भन्ने सन्देश दिन खोजिएको छ ।
कथासङ्ग्रहले महिलामाथि हुने हिंसाका समस्या जस्ताको त्यस्तै उजागर गर्ने प्रयास गरेको छ । नारी अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुलाई बहस पैरवीमा समेत सहज हुने मेरो अपेक्षा छ ।
‘मोम्चो’ भएकै कारण अबका पुस्ताले अपहेलित हुन नपरोस् भन्ने सोचाइ लिएर नै यो कथासङ्ग्रह तयार पारिएको हो । कतिपय कथा समाजका वास्तविक र यथार्थ घटनामा आधारित भएको हुँदा यी सबै हाम्रै घरघरका कहानी हुन् भन्ने पनि मलाई लाग्छ ।
‘मोम्चो’ कथा सङ्ग्रह भित्रको “नबिर्सेको प्रेम” भन्ने कथाको अन्त्यमा नारी पात्रको मनलाई किन यति धेरै कमजोर बनाउनु भएको ? दुःख पाउने पनि महिला र माफी दिने पनि महिला । यो महिलामाथि अन्याय भएन र ?
तपाईको कुरा पनि एक किसिमले ठिकै होला, तर यसलाई फरक दृष्टिले हेरम् त । हामी समाज बनाउने कि भत्काउने ? परिवार जुटाउने कि फुटाउने ? हाम्रो साहित्य परिवार फुटाउने हैन जुटाउनेतर्फ केन्द्रित हुनुपर्छ ।
यो कथामा अर्को पक्ष पनि छ दलित र गैर दलित बीचको कथा । यदि तपाईँले भने झैँ मैले कथामा महिलाले माफी नदिई सम्वन्ध विच्छेदमै कथा टुङ्ग्याएको भएकथाले दलित माथि विभेद गथ्र्याे ।
अन्तरजातीय विवाह माथि नै प्रश्न उठ्थ्यो । कथाको अन्तिममा श्रीमान्श्रीमतीको मिलन गराउँदै गर्दा एउटा परिवार जुटेको छ । अन्तरजातीय विवाहलाई मान्यता दिएको छ । छोरी भएकै कारण विभेद हुनु हुँदैन भन्ने कुरालाई सशक्त रुपमा उठाएको छ ।
अनि कसरी तपाई भन्न सक्नुहुन्छ महिला माथि न्याय भएन भनेर ? म त भन्छु यो कथाले महिलालाई बढी न्याय दिएको छ । “बेइमानी” कथामा राखिएको विषयवस्तुले कार्यकर्ताहरू नेताहरूबाट नै अन्यायमा परेको कुरा उठाएको छ ।
यो कथा अनुसार यी विषयवस्तु माओवादी नेता तथा कार्यकर्तामा बढी केन्द्रित भएको देखिन्छ । वास्तवमा यो समस्या माओवादी पार्टीको मात्रै हो र ? कथा पक्षपाती भयो भन्ने गुनासो आएको छैन ?
“बेइमानी” कथा त्यो सशस्त्र द्वन्दमा लागेका आम छापामारहरुको अहिलेको व्यथा हो । तपाईले माने पनि नमाने पनि नेपालमा बाह्र वर्षे सशस्त्र युद्धले माओवादीलाई जङ्गलवाटसिंहदरवारमा पु¥यायो ।
नेताहरुको ढाल बनेका छापामारहरुको अहिलेको अवस्था के छ त्यो कुनै न कुनै रुपमा साहित्यले पनि जोड्नु पथ्र्यो, मैले कथाको माध्यमबाट त्यसलाई समेट्ने जमर्को गरेको मात्रै हो । नेताहरुले सत्ताको स्वाद लिइरहँदा त्यहि युद्धमा लडेका लडाकुहरू चाहीँ के परिवार पाल्नकै लागि अझै पनि दुःख पीडा भोग्नै पर्ने हो त ? हैन नि ।
म पत्रकार पनि भएको नाताले यो कथामार्फत आफ्नो मूल एजेण्डाबाट बाहिर गएको माओवादी नेतृत्वलाई सचेत बनाउने प्रयास मात्रै गरेको हुू । युद्धका घाइते अपाङ्ग र छापामारको विषयमा नेतृत्वतह सचेत हुनै पर्छ ।
अहिले आफ्ना छापामारलाई बिर्सने छुट नेताहरूलाई छैन ।
फेरि पत्रकारका कुरा गरौं । प्रायः पत्रकारहरू धमाधम साहित्य लेखनमा हाम फालेको देखिन्छ । पत्रकारहरू साहित्यसँग लोभिनु पछाडिको खास कारण के रहेछ ? पत्रकारिताप्रतिको बितृष्णा त होइन ?
पत्रकारहरू प्रत्यक्ष रुपमा समाजमा नै घुलमिल हुने, स्थानीयहरूसँग भेटघाट गर्ने गरेकै कारण सूचनाको पहूँचमा वढी हुन्छन् । पत्रकारलाई विषयबस्तुको खोजी गर्न पनि सहज हुन्छ । समाचारकै क्रममा भेटिएका विषयवस्तुलाई अलि फरक ढङ्गवाट प्रस्तुत गर्ने हो भने त्यो आख्यानका रुपमा आउन सक्दो रहेछ । मेरो अनुभवले पनि यही भन्छ ।
पत्रकारिता गर्दै गर्दा समाचारमा आएका कुरा केही दिनलाई मात्रै चर्चा हुन्छ तर सहित्यिक कृति बन्दै गर्दा त्यो युगयुगसम्म जीवित रहन्छ । त्यसैले पत्रकारहरू अहिले साहित्यमा विस्तारै होमिएका हुन् । पत्रकारहरू साहित्यमा आउनुलाई पत्रकारिता प्रतिको वितृष्णाका रुपमा हेरिनु गलत हुने छ । हरेक पत्रकारका कृतिहरूलाई पत्रकारिता भित्रको ‘वाईप्रोडक्ट’का रुपमा हेर्नपर्छ भन्ने मलाई लाग्छ ।
नेपाली साहित्यको बजार सानो छ भन्ने जान्दाजान्दै पनि साहित्य लेखनमा तिब्रता आएको पाइन्छ । साहित्य लेखनमा तिब्रता आएजस्तै पठन संस्कृतिमा तिब्रता नआउनुको कारण के होला ?
पठन संस्कृतिको कुरा गर्दै गर्दा महाभारतको एउटा प्रसङ्ग उल्लेख गर्न मन लाग्यो । ऋषिकुमार यवकृतले लामो तपस्या गरे ।
तपस्यावाट खुसी भएका भगवान इन्द्रले यवकृतलाई वर माग्न आग्रह गरे । यवकृतले इन्द्रसँग सवैथोक भएको तर आफूलाई पुस्तकनै नपढी सबै ग्रन्थहरू एकै पटक जान्न सकौँ भन्ने वर मागे । तर पुस्तक नै नपढी ज्ञान आर्जन गर्ने कुरा त्यसै सजिलो थिएन । त्यो वर इन्द्रले दिन सकेनन् ।
वर दिन नसकेपछि उनी अन्तध्र्यान भए तर यवकृतले ध्यान गर्न छाडेनन् । इन्द्रले यवकृतलाई बुझाउन जुक्तिलगाए ।
एउटा वृद्ध मानिसको रुपधारण गरेर इन्द्रले यवकृत नजिकै रहेको नदी किनारमा एकोहोरो ढुङ्गा हानी रहे । दुईचार दिन हँुदै महिना दिनसम्म पनि त्यो वृद्धले ढुङ्गा हानिरहेको स्नान गर्न गएका बेला यवकृतले देखेपछि ती वृद्धलाई सोधेछन् ।
‘किन यो नदीमा ढुङ्गा हानी रहनु भएको छ ?’ उत्तरमा वृद्धरुपी इन्द्रले भने ‘मलाई यहाँ पुल वनाएर नदी तर्नु छ ।’
अनि यवकृतले भने ‘कतै ढुङ्गा मात्रै हालेर पनि पुल बन्छ त ? यो सम्भव छैन ।’ इन्द्रले आफ्नो स्वरुप प्रकट गरेर भने ‘हेर यवकृत यहाँ यसरी पुल बन्दैन भने तिमीले पनि पनि अध्ययन नगरी ग्रन्थहरूको ज्ञान हासिल गर्न सक्दैनौ । ज्ञान हासिल गर्न अध्ययन गर्नै पर्छ ।’
अनि यवकृत लज्जित हँुदै तपस्या तागेर अध्ययनमा लागे । मैले यो प्रसङ्ग पठन संस्कृतिका सवालमा जोडेको हो ।
साहित्यकारभित्र वरिष्ठ र कनिष्ठ, सम्मानमा होडबाजी, एक दुई ओटा रचना छाप्ने बित्तिकै ठूलै साहित्यकारको सम्मान चाहिने जस्ता विकृतिहरूप्रति यहाँको धारणा के छ ? के सुझाव दिनु हुन्छ ?
चाहे साहित्यकार हुन् वा पत्रकार मेरो विचारमा बरिष्ठ र कनिष्ठभन्दा पनि उसका विषय वस्तु कत्तिका ओजिला र गहन छन् भनेर हामीले मूल्याङ्कन गर्न जरुरी छ । कतिपय अवस्थामा आफूलाई वरिष्ठ भन्नेहरूको भन्दा भरखर नयाँ पुस्ताका स्रष्टाका कृतिहरू पनि अब्बल आएका पनि पाइन्छन् । यो समयको माग पनि हो ।
पछिल्लो समय तपार्इंले भनेझै साहित्यकारहरूमा पनि केही ‘ग्रुपिजम्’ ठूला साना बीचको विभेद पनि नदेखिएका हैनन् । यही ‘ग्रुपिजम्’कै कारण कतिपय अवस्थामा राम्रा र सफल कृतिहरू ओझेलमा परेको अवस्था पनि छ । साहित्य क्षेत्रमा भएका यस्ता विकृति हटाउन जरुरी छ ।
आगामी योजना के छ ? कथा लेख्नेहरू उपन्यास लेखनमा लागेको पनि देखिन्छ । हजुरले के सोच्नु भएको छ ? उपन्यास लेख्ने सोच बनाउनु भएको छ कि छैन ?
मैले कथा मात्रै हैन । निबन्ध, कविता, हाइकु गजल पनि लेैख्दै आएको छु । यिनीहरु कृतिकै रुपमा प्रकाशनमा नआएका मात्र हुन् ।
कथा समाजको चित्र हो । कथाले मानव समस्यालाई सहज रुपले प्रस्तुत गर्छ । अनि कथा विधा आम पाठकहरूले सबैभन्दा बढी मन पराउने विधा पनि हो । म कथामा रमाउँछु । कथा लेखनबाट मलाई सन्तुष्टि मिल्छ ।
कथाकै माध्यमबाट समाजका तमाम समस्या उजागर गर्न र समाज परिवर्तनको एक पात्रका रुपमा भूमिका खेल्न सक्छु भन्ने ममा विश्वास छ । त्यसैले मैले कथा विधालाई बढी प्राथमिकता दिएको हूँ । मैले आख्यानलाई नै मुख्य विषय बनाएको छु । कथामा दुईवटा कृति आए ।
अब एउटा अनुसन्धानमूलक उपन्यास लेखनको खोजीमा छु । केही तथ्यहरू सङ्कलन गरिरहेको छु । अझै धेरै कुरा खोज्न बाँकी नै छ । ढिलो छिटो मेरो उपन्यास पक्कै आउँछ । काम भने च्यालेन्जिङ नै छ । खुड्किलो उक्लँदै छु । कति उक्लन सकिन्छ अब भविष्यले नै बताउला । आशा छ यस्तै सबैको साथ र सहयोग मिले नयाँ कृतिका लागि प्रयासमा रहने छु ।
नेपाली साहित्यमा बाँकेको कोहलपुर आसपासको साहित्य लेखन तथा क्रियाशीलताप्रति यहाँको मूल्यांकन कस्तो रहेको छ ?
कोहलपुरको साहित्यिक गतिविधि लोभलाग्दो छ । हामी चितवनमा बसेर कार्यक्रम गरिरहँदा कोहलपुरलाई पनि सम्झिरहेका हुन्छौँ ।
यी दुवै क्षेत्र काठमाण्डौँ बाहिर धेरै साहित्यिक गतिविधि हुने ठाउँ हुन् ।हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर विगत दुईदशकदेखि अनवरत कृयाशील छ । पूर्णिमा साहित्य प्रतिष्ठान नेपाली साहित्यमा पश्चिमको ‘ब्राण्ड’ नै बनेको छ ।
यहाँका स्रष्टाहरू सागर गैरे, महानन्द ढकाल, सुमित्रा न्यौपाने, विष्णु पादुका, कपिल अन्जान, छविलाल खड्का, पुस्कर रिजाललगायतका स्रष्टाहरूको साहित्यिक सक्रियता र लेखन स्तरीयता लोभलाग्दो छ । कोहलपुरमा जस्तै अन्य जिल्लामा पनि यो किसिमको गतिविधि हुनुपर्छ भन्ने सन्देश कोहलपुरले दिएको छ ।









प्रतिक्रिया दिनुहोस्