एसीसी महिला टी-२० मा नेपालले भुटानसँग खेल्दै



मलेसियामा आजदेखि सुरू हुने एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्दैछ।

नेपाली समय अनुसार खेल शुक्रबार बिहान पौने ९ बजेदेखि बांगीमा सुरू भएको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगिता जित्ने लक्ष्यका साथ मलेसिया गएको नेपाली टिम भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा रहने छ।

च्याम्पियनसिपमा १० टोली रहेकोमा दुई समूह विभाजन गरिएको छ। नेपाल समूह बीमा रहेको छ। यो समूहमा भुटानसहित कुवेत, हङकङ र बहराइन छन्।

यस्तै समूह ए मा घरेलु टोली मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन्। दुई समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिम महिला टी २० एसिया कपमा छनोट हुनेछन्।

नेपालले दोस्रो खेलमा भोलि (शनिबार) कुवेतसँग खेल्ने छ भने तेस्रो खेलमा सोमबार बहराइन र चौथो खेल मंगलबार हङकङसँग खेल्नेछ।

नेपाली महिला टिम :

रूविना क्षेत्री (कप्तान), इन्दु बर्मा (उपकप्तान), सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अश्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, डली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ र सवनम राई।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रबार