
बधाई तथा सम्मानपत्र ग्रहण गर्दै नेपालगन्जका नवनिर्वाचित मेयर प्रशान्त बिष्ट ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बिहीबार नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशान्त बिष्टको कार्यकक्षमा मानिसहरु भरिभराउ भएर उनलाई कुरिरहेका थिए ।
एकजना दुब्लो पातलो कदका व्यक्ति एकदमै अनौपचारिक पोसाकमा हातमा केही फूलसहितको हरियो गुच्छा बोकेर प्रमुखको कार्यकक्षमा प्रवेश गरे । उनी सरसार प्रमुखको टेबल नजिक पुगे । कुर्सीको ठीक सामुन्ने हातको गुच्छा राखे । काँधमा रहेको गम्छाले मुख पुछे र कक्षमा भएका सबैलाई नमस्कार गरे ।
त्यसपछि ती व्यक्ति खाली रहेको सोफामा बस्नुको साटो टेबलको छेउ भुइँमै थचक्क बसे । त्यसपछि आफ्नै धुनका उनी बोल्न थाले । बोल्न थालेपछि मात्रै थाहा भयो उनी मादक पदार्थ सेवन गरेर आएका छन् ।
कक्षमा रहेका व्यक्तिहरुले उनलाई सोफामा बस्न आग्रह गरे पनि मानेनन् । त्यहाँ रहेका एकजनाले ‘प्रशान्त बिष्ट हनुमान भक्त र यिनी प्रशान्त भक्त हुन्’ भनेपछि उनी हाँसे र सही थपे । अर्का एकजनाले प्रशान्त कक्षमा प्रवेश गरेपछि मात्रै उनी उठ्छन् भनेपछि उनले त्यसमा पनि सही थपे । उनको कुरा सुनेपछि थाहा भयो उनी प्रशान्तसँग फूलको गुच्छा दिएपछि पैसा पाइन्छ भन्ने आशाले आएका हुन् ।
हुन पनि भयो त्यस्तै । करिब आधा घण्टाको पर्खाइपछि प्रशान्त कक्षमा प्रवेश गरे । प्रवेश गर्नासाथ ती व्यक्ति जुरुक्क उठे । दुई हात जोडेर नमस्कार गरे । प्रशान्त कुर्सीमा बस्न नपाउँदै ती व्यक्तिले टेबलमा भएको गुच्छा स्वीकार्न अनुरोध गरे र हात फैलाए ।
प्रशान्तले झर्काे मान्दै पछि आउन भने । तर ती व्यक्ति टेर्ने अवस्थामा देखिएनन् । कक्षमा भएका सबैले बाहिर गएर कुर्न भनेपछि ती व्यक्तिले प्रशान्त बस्ने कुर्सी छेवैको ह्यांगरमा रहेका गम्छातिर हात बढाएर । प्रशान्त उठेर एउटा सेतो गम्छा ती व्यक्तिको काँधमा हालिदिएपछि ती व्यक्तिलाई प्रशान्तका पिएले हात समात्दै बाहिर निकाले ।
यो एउटा दृष्यले नयाँ जनप्रतिनिधिहरुलाई कार्यभार सम्हालेका पछिल्ला केही दिनमा कस्तोसम्म व्यक्तिहरुलाई झेल्नुपरिरहेको छ भन्ने अनुमान लगाउन सकिन्छ । बिहानदेखि साँझसम्म दौडादौड छ । अनेक संघसंस्थाका स्वागत, सम्मान र बधाई कार्यक्रमको निम्तो मान्नुपरेको छ । बाहिर मात्रै होइन कार्यकक्षमा पनि मानिसहरु उस्तै घुइँचो छ ।
मानिसहरु टीका, फूलमाला र खादा लिएर पालैपालो उनलाई रंग्याउँछन्, सजाउँछन् र अन्तमा सेल्फी छुटाउने कुरै भएन । प्रशान्त भन्छन्, ‘हामी पार्टीमा आबद्ध व्यक्तिहरुलाई स्वतन्त्र व्यक्तिजस्तो घोषणा गरेर म कार्यक्रममा सहभागी हुन्न भन्न सजिलो छैन । सबैको चित्त बुझाइदिनु पर्ने हुन्छ । तर मैले सकेसम्म कार्यकक्षभन्दा बाहिरका स्वागत तथा सम्मानका कार्यक्रमलाई कम गर्दै लगेको छँु ।’
कार्यकक्षमै हुने भेटघाटहरु पनि जनताका कुरा सुन्नेभन्दा बधाई र टीका ग्रहणमै खर्च भइरहेको देखिन्छ । बिहीबारै आफ्नो टोलमा रहेको मुख्य सडकमा अहिलेसम्म बजेट नपरेको र यस वर्ष पनि वर्षात् हिलाम्मे सडकमै गुजार्नुपर्ने अवस्था आएको गुनासो सुनाउन आएका नेपालगन्ज–४ का स्थानीयहरुले प्रमुख बिष्टलाई टीका लगाएर शुभकामना दिन मात्रै भ्याए ।
आफ्ना कुरा सुनाउन पाएनन् । किनकि उनीहरुका पछाडि बिष्टलाई शुभकामना दिन हातमा फूलमाला र खादा लिएर उभिएका मानिसहरुको लाइन लागिसकेको थियो । स्थानीय ज्ञानप्रसाद कँडेलले भने, ‘हामीले सडकको कुरा मेयरसामू राम्ररी राख्न पाएनौं केही दिनपछि फेरि भेट्नुपर्ने भएको छ ।’
यो समय स्थानीय सरकारहरुका लागि अति महŒवपूर्ण समय हो । वास्तवमा जनप्रतिनिधिहरुको अधिकांश काम यही समयमा हुने गर्छ । किनकी यो समय आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने समय हो भने चालू आर्थिक वर्षका कामको अनुगमन, फछ्र्यौट गर्नुपर्ने बेला पनि हो । तर यहीबेला कार्यभार सम्हालेका नयाँ जनप्रतिनिधिहरुलाई संघसंस्था र व्यक्तिहरुले स्वागत र शुभकामना कार्यक्रमका नाममा अलमलाइरहेका छन् भने जनप्रतिनिधिहरु पनि त्यसैमा मख्ख परिरहेका छन् ।
प्रमुख बिष्टलाई नेपालगन्जको कला, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि आवश्यक सुझाव दिन उनको कार्यकक्षमा पुगेका साहित्यकार हरि तिमिल्सेनाले बिष्टले अब सबैलाई सम्झाएर काममा केन्द्रित हुनुपर्ने बताए । नगरवासीहरुले पनि अनावश्यकरुपमा जनप्रतिनिधिलाई अलमल्याउने भन्दा काममा केन्द्रित गराउन सघाउनुपर्ने पनि उनले बताए ।
नयाँ बजेट तर्जुमाको छैन सुरसार
स्थानीय तहको बजेट निर्माणको प्रक्रियालाई अक्षरशः अनुसरण गर्ने हो भने यतिबेला स्थानीय जनप्रतिनिधिहरु वडा तहका योजनाको छनोट र प्राथमिकीकरणमा व्यस्त रहनुपर्ने हो ।
तर बाँकेका स्थानीय तहमा यस वर्ष नयाँ बजेटको लागि बस्तीस्तरका योजनासमेत छनोट भएका छैनन् ।
योजना निर्माणको सबैभन्दा महŒवपूर्ण चरणका रुपमा बस्तीस्तरका योजना छनोटलाई लिइन्छ । किनभने यस चरणमा बस्तीस्तरमा छलफल एवम् बैठकहरु गरी स्थानीयका मागमा योजनाहरुलाई संकलन गर्ने गरिन्छ ।
तर यस वर्ष निर्वाचनको बाहनामा बाँकेका कुनै पनि स्थानीय तहमा बस्तीस्तरका योजना छनोटका कामहरु भएका छैनन् । त्यस चरणलाई निर्वाचन आयोगको आचारसंहिताले पनि प्रभावित ग¥यो । अब असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नुपर्ने दबाब स्थानीय तहहरुलाई छ । त्यसका लागि एक महिनाको समय मात्रै बाँकी छ । यो स्थिति हेर्दा यस वर्ष पनि नागरिकहरुले आफ्नो योजना आफैँ छनोट गर्ने अधिकारबाट वञ्चित हुने भएका छन् ।
अघिल्ला वर्षहरुमा पनि कोरोनाका कारण बस्तीस्तरका भेलाहरु गरिएको थिएन । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत अब कार्यपालिका पूर्ण भएपछि मात्रै बजेट निर्माणको काम अघि बढ्ने बताउँछन् ।
‘१६ गते कार्यकालिकाका सदस्यहरुको चुनाव छ । त्यसपछि कार्यपालिका पूर्ण बन्छ । कार्यपालिकाले विषयगत समितिहरु निर्माण गर्छ । ती समितिहरुले योजनाहरुको प्राथमिकिकरण गर्छन् र बजेट तयार गरिन्छ,’ उनले भने ।
बजेट खर्चको अवस्था दयनिय
नेपालगन्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्ष २०७८/०७९ को बजेट एक अर्ब ७८ करोड ६१ लाख ८९ हजार छ । यदी यो बजेट कार्यान्वयन भइदिन्थ्यो भने विकासको अहिलेको रफ्तार धेरै तीव्र हुन्थो । तर बजेट कार्यान्वयनको हालत हेर्दा यति ठूलो आकारको बजेटको कुनै खास अर्थ देखिँदैन ।
चालू आर्थिक वर्षको करिब दुई महिना मात्रै बाँकी रहँदा नेपालगन्ज उपमहानगरपालिकाको ४० प्रतिशतभन्दा बढी हिस्सा बजेट खर्च हुनै बाँकी छ । खर्च भएको बजेटमा पनि विकास निर्माणका काममा छुट्याइएको पुँजीगत बजेट २६.३४ प्रतिशत मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा पुँजीगततर्फको ७२ प्रतिशतभन्दा बढी बजेट खर्च नै हुन सकेको छैन ।
बजेट कार्यान्वयन सुस्तताको सबैभन्दा अन्तत्वगत्वा असर नगरवासीहरुलाई पर्ने हो । किनभने पुँजीगत बजेटमध्ये सबैभन्दा बढी रकम विनियोजित सडक तथा पुल निर्माणतर्फको २८ करोड २७ लाख ३० हजार बजेटमध्ये त्यसको २७.९२ प्रतिशतअर्थात सात करोड ८९ लाख ३८ हजार मात्रै खर्च हुन सकेको छ । अझै २० करोड बढी बजेट खर्च हुन सकेको छैन । यसको अर्थ यस वर्ष पनि अधिकांश टोलवासीहरुले हिलाम्मे सडकमै वर्षा झेल्नुपर्ने देखिएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा जेठ र असार महिनामा कुल बजेटको २० प्रतिशत खर्च भएको थियो । उक्त आर्थिक वर्षका पहिलो १० महिनामा मात्र ४६ प्रतिशत खर्च भएको थियो । वैशाख मसान्तसम्म ४६ प्रतिशत पुँजीगत खर्च भएकोमा असार मसान्तमा उक्त खर्च ह्वात्तै बढेर ७६ प्रतिशत पुगेको थियो । जेठ र असार महिनामा पुँजीगत खर्च ह्वात्तै बढ्नुले आर्थिक नियमितता र निर्माणका कामको गुणस्तरीयतामा प्रश्न उठाउँछ । चालु आर्थिक वर्षमा त वैशाख मसान्तसम्म मात्र २६.३४ प्रतिशत मात्रै खर्च भएको छ ।
अब बाँकी रहेका दुई महिनामा पुँजीगत खर्च बढाउन धमाधम भुक्तानी दिने सम्भावना रहन्छ भने भौतिक निर्माण हतारमा सक्ने होडबाजी हुनसक्नेतर्फ नयाँ जनप्रतिनिधिहरु सचेत रहनुपर्ने हुन्छ । तर उनीहरु बधाई खान र स्वागत कार्यक्रममा सहभागिता जनाउनमै समय खेर फालिरहेका छन् । उपप्रमुख कमरुद्दीन राई यस वर्ष सबै योजनाहरुको अनुगमन गर्न नसकिएपनि केही प्रमुख योजनाहरुको अनुगमन गरिरहेको बताउँछन् ।
यता उपमहानगरपालिका कर्मचारीहरु चुनावका कारण बजेट खर्च ढिलो भएको बताइरहेका छन् । उनीहरुको तर्कलाई के ले पनि बल पु¥याउँछ भने निर्वाचन घोषणा भएदेखि नै निवर्तमान प्रमुख र उपप्रमुखहरुले उपमहानगरपालिकाको कामभन्दा पार्टीको राजनीतिमा समय खर्च गरे । जनप्रतिनिधिहरु राजनीतिमा व्यस्त हुनुको परिणाम अहिले बजेट कार्यान्वयनमा परेको छ ।
नाली सफा गर्ने काम भएन सुरु
नेपालगन्जमा वर्षातको समयमा डुबानको समस्या निम्तनुको मुख्य कारणमध्ये एक हो नालीहरुमा फालिएका प्लास्टिकजन्य फोहोर । अहिले जताततै नालीहरुमा प्लास्टिकजन्य फोहोरहरु थुुप्रिएको देख्न सकिन्छ । तिनै प्लास्टिकहरुले निकास थुनेपछि वर्षायाममा सडक तथा घरहरुमा पानी पस्छ ।
यही अवस्थालाई ध्यानमा राखेर होला प्रशान्त बिष्टले नगरप्रमुखको कार्यभार सम्हालेकै दिन नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाइ कार्यलाई तत्कालै कार्यान्वयन गर्ने भन्ने निर्णयमा हस्ताक्षर गरे ।
तर उक्त निर्णयमा हस्ताक्षर गरेको पाँच दिन बितिसक्दा पनि नेपालगन्जमा नाला सफाइको काम सुरु भएको छैन । नगर प्रमुख बिष्टले आफूले निर्णय गरे पनि नाला सफाइ गर्ने मेसिनहरु दुरुस्त नरहेका पाइएको उनले बताए । ‘उपकरणहरु बिग्रेर थन्केको अवस्था रैछ, भन्नुपर्दा लाज लाग्छ ।
त्यस कारण मैले पहिलो बैठकमै सफाइको तयारीहरुलाई अघि बढाउनुस् भनेको हुँ,’ प्रमुख बिष्टले भने । उपमहानगरपालिकाका वातावरण इञ्जिनियर प्रशाक डिसीका अनुसार दुइटा जेसिबी रहेकोमा बिग्रेर बनाउन दिइएको जानकारी दिए । जेसिबी बनेपछि सफाइको काम सुरु गरिने उनले बताए ।
नगर प्रमुख बिष्टले थप सफाइकर्मीहरु पनि आवश्यक पर्ने देखिएकोले ज्यालादारीमा व्यवस्था गर्न पनि निर्देशन दिइसकेको पनि जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्