दाङमा कृतिम उद्धार अभ्यास



दाङ ।

विपद्बाट जोगिन देउखुरीको राप्ती नदीमा कृतिम उद्धार अभ्यास गरिएको छ ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना एवम् सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेटक्वाटर ज्वालामाई भालुवाङको समन्वयमा विपद्बाट जोगिन राप्ती नदीमा कृतिम उद्धार अभ्यास गरिएको हो ।

वर्षात सुरु हुनु पूर्व नै विपद्का बेला उद्धार गर्न सहजताका लागि नमुना अभ्यास गरिएको छ । अभ्यासका क्रममा नदीमा कृतिम उद्धार अभ्यासका लागि सशस्त्र प्रहरीलाई राप्ती नदीमा बगाइएको थियो ।

विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र उद्धार टोलीले डुंगामार्फत उक्त राप्ती नदीमा तैरिरहेका सशस्त्र प्रहरीको खोजीपछि जिवितै उद्धार गरेका थिए ।

घाइतेहरुलाई नदीबाट उद्धार गरी बाहिर निकाएपछि के कसरी व्यवस्थापन गरिन्छ भनेर कृतिम उद्धार अभ्यासमा देखाइएको थियो भने विपद्का बेला आइपर्ने समस्या, उद्धार, बैठक अनुगमन, प्राथमिक उपचार, रेफर र राहतका विषयमा अभ्यास गरिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार शाहीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित २५ जनाको टोली डुंगामा उद्धारका लागि सम्मिलित थिए । कार्यक्रममा दाङ सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले यदी कुनै दुर्घटना भइहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने बताइन् ।

बाढीको कृतिम घटना अभ्यास कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, नेपाल रेडक्रस सोसाइटी, इलाका प्रशासन कार्यालय लमहीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार