नेपालगन्ज ।
यतिबेला नरैनापुर–३ का अजयकुमार मिश्र वडाध्यक्षको हैसियतमा छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका मिश्रले ६५४ मत प्राप्त गर्दै वडाध्यक्षमा आसिन भए । वडाध्यक्षभन्दा पहिला उनी सामान्य जागिरे थिए । वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा मनोनयन दर्ताको अघिल्लो दिन उनले जागिरबाट राजीनामा दिएका थिए । उनी राजनीतिज्ञ थिएनन् ।
गाउँपालिकाको सामान्य जागिरे थिए । गाउँपालिकाको दमकल सहायक उनै मिश्र उडाध्यक्ष बनेका छन् । जनताको दुःख नजिकबाट नियालेको र ति समस्यालाई समाधान गर्न आफू सक्षम भएको भन्दै उनी चुनावी प्रतिस्पर्धामा थिए ।
कही कतै काम लागेका उनै मिश्रलाई यहाँका नागरिकले जिताइ दिए । उनी अहिले दमकल सहायकबाट वडाध्यक्ष बनेका छन् । उनी कतै दमकल आवश्यक पर्दा पाइप मिलाउने, आगो लागेको ठाउँमा आगो निभाउन जाने, चालकसँगै स्थानीय खोलामा पानी भर्न जाने, दमकल सफाइ गर्नेलगायत काम गर्थे ।
वडाध्यक्ष बनेसँगै मिश्रको दैनिकी र जीवनको लक्ष्य फेरिएको छ । ‘म अति नै गरिब परिवारको मान्छे हुँ,’ मिश्रले भने, ‘मलाई वडावासीले यहाँसम्म पु¥याए । अब म पनि आफूले भ्याएसम्म उनीहरूको सेवा गर्छुं ।’ उम्मेदवारी दर्ता गरेपछि आफू दुई दिनमात्रै जनताको घरदैलोमा भोट माग्न जान सकेको मिश्रले बताए । ‘त्यसपछि म ठूलो बिराम परें र औषधि गर्न गएँ,’ उनले भने, ‘तैपनि जनताले आफैँ मेरो लागि भोट मागे र विजयी गराए ।’ मिश्रले कक्षा १२ सम्मको पढाइ छिमेकी देश भारतबाट पूरा गरेका छन् ।
‘मेरो पालामा नरैनापुरमा आठ कक्षासम्म मात्रै विद्यालय थिए र अहिलेको जस्तो बाटो नभएकाले उतिखेर नेपालगन्ज जान राप्ती नदीले रोक्थ्यो,’ मिश्रले भने, ‘हामीलाई इन्डिया गएर पढ्न नजिक र सहज भएको हुँदा मैले उतैबाट कक्षा १२ सम्मको पढाइ पूरा गरेको हुँ ।’ आफूलाई वडावासीले बिरामी हुँदा पनि भोट मागेर जिताएकोमा औधी खुसी लागेको उनले बताए ।
उनको घर वडा कार्यालदेखि करिब तीन किलो मिटर टाढा मात्रै छ । ‘म निर्वाचित भएपछि एकदिन मात्रै घर गएको छुँ,’ मिश्रले भने, ‘आज १६ दिन पुग्यो, म जनताकै घरमा बास बसिरहेको छुँ ।’
आफ्नो घरमा बस्न आउनुपर्छ र खाना खाइदिनुपर्छ भन्नेहरू धेरै भएको हुँदा स्थानीयकै चाहनाअनुसार आफ्नो घर जान नपाएको उनले बताए । जनताको इच्छा–चाहनाअनुसार काम गर्ने सोच बनाएको उल्लेख गर्दै उनले जनताका घरघरमा पुगेर, उनीहरूका कुरा सुन्दै आएको उनको भनाइ छ । उनी पहिलो दिन वडा कार्यालय जाँदा आफ्नै साइकल चढेर गएका थिए ।
दोस्रो दिन गाउँपालिकाले आफ्नो लागि भनेर एउटा पुरानो गाडी पठाइ दिएको पनि उनले बताए । ‘मेरो मोटरसाइकल छैन,’ मिश्रले भने ‘कहिलेकाहिँ भाइको स्कुटरमा यात्रा गर्छुं ।’ धेरै वडावासीको माग गरिब बालबालिकाको शिक्षा र गरिब परिवारको स्वास्थ्य उपचारका लागि केही गर्नुपर्छ भन्ने रहेको हुँदा आफू त्यहीअनुरूप अगाडि बढ्ने मिश्रले बताए ।
‘गरिबका छोराछोरीले पनि इच्छा लागेको विषय पढ्न पाउनुपर्छ भन्ने मेरो धारणा छ,’ उनले थपे, ‘म गरिबका जेहेन्दार छोराछोरीलाई इन्जिनियर र डाक्टर पढाउन सहयोग गर्नेछुँ ।’ कालाफाँटामा अधिकांश घरमा फुसका छन् । ती घरमा जस्ता (टिन) को छाना लगाउने प्रतिबद्धता उनले जाहेर गरे ।
वडाका चारवटा बस्तीमा बिजुली र बाटो नपुगेको हुँदा ती ठाउँमा बिजुली, बाटो र पिउने पानीको लागि धाराको प्रबन्ध मिलाउन काम गर्ने उनले बताए । ‘मेरो योजना अबको पाँच वर्ष पूरै जनताको सेवामा खटिने भन्नेछ,’ मिश्रले भने ।









प्रतिक्रिया दिनुहोस्