दाङ ।
लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको दाङको राप्ती गाउँपालिका वडा नम्बर आठमा कार्यालय सहयोगी नै वडाध्यक्ष निर्वाचित भएर आएका छन् ।
झन्डै पाँच वर्ष कार्यालय सहयोगी भएर काम गरेका चन्द्रबहादुर गुरुङलाई जनताले वडाध्यक्षको जिम्मेवारी दिएर पठाएका हुन् ।
वैशाख ३० गते भएको निर्वाचनमा नेकपा एमालेबाट गुरुङले नौ सय ५० मत ल्याएर वडाध्यक्ष भई वडा कार्यालयमा पुगेका
छन् । नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीले आठ सय १६ मत ल्याएर गुरुङसँग पराजित भएका छन् ।
एमालेबाट गुरुङसहित तीनजना वडा सदस्य निर्वाचित भएका छन् भने कांग्रेसबाट एक वडा सदस्य निर्वाचित भए । पाँच वर्षको अन्तरालमा गुरुङ कार्यालय सहयोगीबाट वडा अध्यक्ष भई जनप्रतिनिधि हुन सफल भएका छन् । २०७४ सालको निर्वाचनमा वडा नम्बर ८ अध्यक्षमा एमालेका गोकर्णबहादुर रानामगरले जितेका थिए ।
गुरुङलाई घर खर्च चलाउन गाह्रो भएपछि रानामगरले नै कार्यालय सहयोगी बनाएर काममा लगाएका हुन् । उनी कार्यालय सहयोगी भएर खुरुखुरु काम गर्न थाले । यति धेरै कार्यालय र जनताको सेवा गरे अन्तमा जनताले वडाध्यक्ष बनाएर पठाएका छन् ।
‘यसअघि चुनावमा वडाध्यक्ष गोकर्णबहादुर राना मगरले जित्नुभयो । उहाँलाई मैले अभिभावकरुपमा लिन्छुँ । उहाँले नै कार्यालय सहयोगी राख्नुभयो,’ गुरुङले भने, ‘कार्यालय सहयोगीको जागिरे हुँदा वडा अध्यक्ष नै हुन्छु भनेर खाएको त होइन । घर खर्च चलाउने भनेरै काम सुरु गरे । तर, कार्यालय र जनताले अह्राएको कामले वडाध्यक्ष भए ।’
अह्राएको काम गर्दासमेत जनताले मन पराएकोमा गुरुङसमेत अचम्मित भएका छन् । ‘कार्यालय र जनताले अह्राएको काम गरे । जनताले भित्रभित्रै मन पराए छन् थाहा पाएन,’ गुरुङले भने, ‘गाउँमा धेरैले वडाध्यक्षमा युवा हुनुपर्छ भन्न थाल्नुभयो । पार्टीले टिकट दिए लड्छु भने । वडा अध्यक्षमा पाँचजना दाबेदार हुनुहुन्थ्यो । अन्तमा मैले टिकट पाए, जितेर देखाएँ ।’
कार्यालय सहयोगी हुँदासमेत आफूले कुनै विभेद खेप्न नपरेको गुरुङले बताए । ‘मैले धेरै पढेको छैन । जम्मा एसएलसी मात्रै पढेको छुँ । कार्यालय सहयोगी भएर बस्दा वडा सचिव शान्ता केसी हुनुहुन्थ्यो । उहाँले कार्यालयको अन्य काम पनि सिकाउनुभयो ।
कार्यालय सहयोगी हुँदा दुव्र्यवहार सहनु परेन । उहाँले सम्मानजनक व्यवहार गर्नुभयो,’ गुरुङले भने, ‘मैले चिया खुवाउने, झाडु लगाउने र मैले गर्न सक्ने जनताको काम गरे ।’









प्रतिक्रिया दिनुहोस्