हरिजन मृत्यु प्रकरण: क्षेत्राधिकारभन्दा बाहिरको प्रतिवेदन



वीरेन्द्र जैसी । नेपालगन्ज ।

रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्जका सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न गठित समितिले क्षेत्राधिकार बाहिर गएर प्रतिवेदन बुझाएको छ । घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन सोमबार कारागार विभागलाई बुझाएको हो ।

उक्त समितिलाई हरिजनको मृत्यु हत्या हो कि आत्महत्या हो भन्ने मात्रै निक्र्यौल गरी प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी दिइएकोमा कर्मचारीहरुको संलग्नतानै छैन भन्ने आशयको प्रतिवेदन बुझाएको छ ।

उक्त समितिलाई अवस्थामा बुझ्न पठाइएको थियो । कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा जेठ ६ गते गठित समितिले सोमबार बुझाएको प्रतिवेदनमा हरिजनको मृत्यु आत्महत्याबाटै भएको देखिएको, शाह जेलबाट हरिजनको नाममा भागेको तर उनको सजाय हरिजनले नै भोग्दै गरेको पाइएकोसम्म उल्लेख छ ।

अर्काेतिर समितिले कारागारका कर्मचारीको मिलोमतो नरहेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । जबकि समितिलाई ‘रोल्पा कारागारमा कैदीको मृत्यु कसरी भयो स्थलगत अध्ययन अनुसन्धान गर्न’ मात्र अधिकार दिइएको थियो । समितिलाई समग्र प्रकरणमा न्यायाधीश, अदालतका कर्मचारी, सरकारी वकिलको कार्यालय र प्रहरीको समेत शंकास्पद भूमिकामाथि छानबिन गर्ने क्षेत्राधिकार नै छैन भने आफ्नै मातहतका कर्मचारीहरुलाई उम्क्याउने गरी दिएको प्रतिवेदन पनि विश्वासिलो छैन ।

समितिका संयोजक चापागार्इं समितिले घटनामा कारागारका कर्मचारीहरुले गरेको कामबारे जाँचबुझ गर्न पाउने अधिकार राख्ने र सामान्यरुपमा प्रक्रियामा भएका कमजोरीबारे पनि राय दिनसक्ने बताउँछन् । ‘हरिजन र शाहले कैदी पुर्जी फेरेर जेलमा इन्ट्री गरेपछि कर्मचारीहरुले त्यही पुर्जीअनुसार कारबाही गर्ने हो । हामीले हेर्दा त्यसमा कर्मचारीहरुको मिलोमतो देखेनौं,’ चापागाईंले भने ।

उनले यदी संलग्नता रहेछ भने पनि त्यो सुन्दरको नाममा जेल बाहिर निस्केका विजयविक्रम शाह पक्राउ परेपछि मात्रै खुल्ने बताए । बरु कर्मचारीहरुले परिचयमा सोधीखोजी नगरेरै छोड्ने हेलचेक्य्राइँ भने गरेको देखिएको बताए ।

सुन्दरका आफन्तहरु भने समितिले भनेको जस्तो कर्मचारीहरुको मिलोमतो नभइकन यति गम्भीर अपराध भयो भन्ने मान्न तयार छैनन् । सुन्दरका दाइ राजकुमारले भने, ‘पहिलो कुरा त मेरो भाइलाई नेपालगन्जबाट रोल्पा हामीलाई थाहै नदिइ कसरी सरुवा गरियो ? अनि सरुवा गर्दा उनीहरुको परिचयपत्रमा किन शंका गरिएन ? यस्तो हो भने त अरुले पनि साटफेर गरेका होलान् नि ।’

हरिजनलाई जरिवाना बुझाएमा कारागार मुक्त हुने केही दिन अघि मात्रै किन बाँकेबाट विजयविक्रम शाहसँगै रोल्पा सरुवा गरियो भन्ने कारण खुलेको छैन । उनीहरूको सरुवाको समयमा बाँके कारागार प्रमुख रहेका देवेन्द्र श्रेष्ठ र रोल्पा कारागार प्रमुख कमला घिमिरे अन्यत्रै सरुवा भइसकेका छन् ।

सुन्दर पक्राउ पर्दा नाबालक रहेका हरिजनलाई पक्राउ पुर्जी जारी गर्न अनुमति दिने, अनुसन्धानका लागि म्याद थप्ने, पुर्पक्ष र फैसलामा दोषी पाइएपछि कारागार पठाउने काममा बाँके जिल्ला अदालतका तत्कालीन न्यायाधीश र कर्मचारीहरू पनि संलग्न थिए । हरिजनमाथि नाबालकलाई गर्ने छुट्टै अभियोजन र कार्यविधि नअपनाएको तथा उनको उमेरसम्बन्धी विवरण समावेश नगरेकामा तत्कालीन सरकारी वकिल पनि जवाफदेही हुने अधिवक्ताहरु बताउँछन् ।

चापागाईंले कारागारमा रहेका कैदीहरूको फोटोसहितको विवरण राख्ने, फोटोसहितको परिचयपत्र दिनेलगायतका सुधार गर्न सुझाव दिइएको पनि बताएका छन् । कान्तिपुर दैनिकका अनुसार सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश गिरीशचन्द्र लाल कारागार विभागकै कर्मचारीको नेतृत्वमा गठन भएको समितिबाट यस्तो घटनाको वास्तविक छानबिन हुन नसक्ने बताउँछन् ।

‘सबै विषयमा अनुसन्धान गर्ने क्षेत्राधिकारसहितको ठूलो आयोग बनाउनुपर्छ वा मानवअधिकार आयोगले पनि काम गर्न सक्छ,’ उनले भने, ‘तर, नियुक्ति नै विवादास्पद भएका आयोगका पदाधिकारीले उच्च नैतिक मनोबलका साथ काम गर्न गाह्रो छ । होइन भने मानवअधिकार आयोगले अहिलेसम्म त आफ्नो भूमिकाअनुसार काम थालिसक्नुपर्ने थियो ।’

उनले अदालतको भूमिकाबारे मानवअधिकार वा अन्य आयोगले छानबिन गर्न नसक्ने बरु न्यायपरिषद् क्रियाशील हुनुपर्ने बताएका छन् । मोबाइल चोरी मुद्दा लागेका हरिजनलाई जेलमा राखेर उनको सट्टा शाहलाई छाडिएको थियो । हातहतियार खरखजाना, कैदी भगाएको तथा नागरिकता किर्तेजस्ता मुद्दामा पहिले नै सजाय काटिसकेका र आपराधिक लाभमा समेत दोषी पाइएपछि शाह सजाय काट्दै थिए ।

बाँकेको कारागारमा रहेका शाह र हरिजनलाई २०७७ मंसिर ८ मा रोल्पा सरुवा गरिएको थियो । शाहलाई त्यसै वर्ष पुस २८ मा हरिजनको नाममा छाडिएको थियो । त्यसपछि हरिजनलाई शाहको बाँकी सजाय भुक्तान गर्नका लागि कारागारमा राखिएको थियो । गत जेठ ४ मा कारागारमै झुन्डिएको अवस्थामा हरिजनको शव भेटिएपछि प्रकरण बाहिर आएको थियो ।

सुर्खेतको बराहताल गाउँपालिका–१ घोडाआँखेका शाहलाई २०७६ असार ३० मा न्यायाधीश रामप्रसाद बस्यालले शाहलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेका थिए । शाहले जरिवाना रकम बुझाएको भए उनी आगामी फागुन २२ मा बल्ल जेलमुक्त हुने थिए । तर, २०७७ पुस २८ मै उनी रोल्पा कारागारबाट सुन्दर हरिजनको नामबाट छुटेका थिए ।

यता नाबालक रहेका हरिजनलाई मोबाइल चोरीको अभियोगमा पुर्पक्षका लागि र अन्तिम फैसलामा कारागार पठाइएको थियो । जिल्ला न्यायाधीश दिलीपराज पन्तले हरिजनलाई चोरी मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेका थिए ।

यसरी कारागार पुगेका हरिजन २०७७ भदौ १८ मै छुट्नुपर्ने थियो । उनलाई लगाइएको जरिवाना तिर्न नसकेको अवस्थामा पनि २०७७ को असोज २२ मा उनी थुनामुक्त हुनुपथ्र्यो । तर, २०७७ मंसिर ८ मा रोल्पा सरुवा गरिएका उनी २०७९ जेठ ४ मा कारागारमै मृत फेला परेका थिए ।

संसदीय समितिको माग

सुन्दर हरिजनलाई अर्कैको सजाय भुक्तान गर्न लगाइएको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठनको माग भएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सो माग गरेकी हुन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय माग गरेर बोल्दै विशंखेले हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी हुन् ।

‘यो घटनामा न्यायालय पनि जोडिएको भएकाले संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई, न्याय संरचनासँग जोडिएकालाई छानबिनको दायरामा ल्याइयोस्,’ उनले भनिन् ।

प्रहरीले अझै दर्ता गरेन जाहेरी

सुन्दर हरिजनका आफन्तले बाँके प्रहरीमा बाँके र रोल्पाका कारागार प्रमुख र विजयविक्रम शाहविरुद्ध कर्तव्य ज्यानको मुद्दा लिएर किटानी जाहेरी दिएका थिए ।

तर बाँके प्रहरीले बाँकेमा भन्दा सुन्दरको मृत्यु भएको रोल्पा जिल्लामा जाहेरी दर्ता गर्दा उपयुक्त हुने भन्दै जाहेरीलाई हुलाकबाट रोल्पा पठाएको थियो । गत शुक्रबार पठाइएको उक्त जाहेरी चार दिन बितिसक्दा पनि रोल्पा पुगेको छैन । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक थम्मन बिसीले मंगलबार साँझ ६ बजेसम्म पनि जाहेरी प्राप्त भइ नसकेको जानकारी दिए ।

१० दिनपछि शव जलाइयो

यसैबीच सुन्दरका परिवारजनले मंगलबार शवको अन्तिम संस्कार गरेका छन् । जेठ ६ गते रोल्पाबाट शव बुझेर ल्याई नेपालगन्जस्थित मेडिकल कलेजमा राखेका थिए । उनीहरुले दोषीलाई कारबाही नभएसम्म शव नजलाउने अडान लिएका थिए ।

तर प्रहरी स्थानीय जनप्रतिनिधिलगायतबीच छलफलपछि मंगलबार शव बुझेर श्मशान घाटमा अन्तिम संस्कार गरिएको सुन्दरका दाई राजकुमारले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार